रोकिएन कर्मचारीको विदेश भ्रमण

५ कार्तिक २०७५, सोमबार ०८:५८

‘दाताको खर्चमा सरकारी कर्मचारीको विदेश भ्रमण रोकिएन, दुई महिनामा ५८२ ले गरे भ्रमण

सरकारको नीति तथा निर्देशिकाको धज्जी उडाउँदै विभिन्न मन्त्रालयमा का करिब ६ सय कर्मचारीले विदेश भ्रमण गरेका छन् । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, परामर्शदाता, ठेकदारलगायतको खर्चमा कर्मचारीलाई विदेश भ्रमण नगर्न भने पनि दुई महिना साउन र भदौ मा ५ सय ८२ सरकारी कर्मचारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र परामर्शदाताको खर्चमा विदेश भ्रमण गरेको पाइएको हो ।

दुई महिनाको अवधिमा झन्डै ६ सय कर्मचारीले विदेश भ्रमण गरेको जानकारी प्राप्त भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो,धेरैजसो कर्मचारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, परामर्शदाताको खर्चमा विदेश भ्रमण गरेको देखियो, जुन सरकारको नीति विपरित हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार गत साउन र भदौमा २१ वटा मन्त्रालय र तीअन्तर्गतका कार्यालयहरुबाट ५ सय ८२ भन्दा बढी कर्मचारीले विश्वका ३३ देशको भ्रमण गरेको छन। चीन, इन्डोनेसिया, भुटान, मलेसिया, फ्रान्स, इटाली, जापान, सिरिया लियोन, अमेरिका, थाईल्याण्ड, क्याम्बोडिया, भारत, कोस्टारिका, स्वीट्जरल्याण्ड, फिलिपिन्स, इक्वेडर, जर्मनी, युनाईटेड अरब इमिरेट्स, बेलायत, दक्षिण कोरिया, युगाण्डा, बंगलादेश, अष्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, सिंगापुर, नर्वे, श्रीलंका, जर्मनी, नेदरल्याण्ड्सको भ्रमण गरेका छन् । कर्मचारीहरु सबैभन्दा बढी थाईल्याण्ड र फिलिपिन्स गएको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी छन् ।मन्त्रालयका एक सय २२ जनाले विदेश भ्रमण गरेका छन् । त्यसपछि वन तथा वातावरण मन्त्रालयका कर्मचारीको छ । दुई महिनाको अवधिमा वनका ६९ जना कर्मचारीले विदेश भ्रमण गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ५३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ४७, अर्थ मन्त्रालयबाट ३४, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ३३, सहरी विकास मन्त्रालयबाट ३०, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २५ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट २० जना कर्मचारीले विदेश भ्रमण गरेका छन ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट १९, गृह मन्त्रालयबाट १८, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १७, परराष्ट्र मन्त्रालयबाट १६, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट १५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १४, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १४, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १०, खानेपानी मन्त्रालयबाट ९, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ७, रक्षा मन्त्रालयबाट ६ र युवा तथा खेलकुद मन्त्रालयबाट ४ जना कर्मचारीले विभिन्न देशको भ्रमण गत साउन र भदौ महिनामा गरेका थिए ।