बडादशैँको छैटौँ दिन

२९ आश्विन २०७५, सोमबार ०८:४८

बडादशैँको छैटौँ दिन सोमबार भगवती दुर्गाकी छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ।

कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको पुराणमा उल्लेख छ। कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको प्रसंग दुर्गा सप्तशती चण्डी मा आउँछ।

कात्यायनीले चार हातमध्ये दुई हातमा तरवार, कमल लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ। नवरात्रमा नवदुर्गाका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ। घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा उपासना चल्ने गर्दछ। यो समयमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ।