पीपीएलः आज २ खेल हुुँदै, विराटनगर भर्सेस एक्स्पर्ट धनगढी, बुटबल र पोखरा भिड्दै

११ कार्तिक २०७५, आईतवार ०८:११

पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग पी पी एल को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ ।

खेल अहिले बिहान ९ बजेदेखि सूरु हुनेछ । विराटनगर र धनगढीले यसअघि एक—एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले यसअघिको खेल गुमाएका छन् भने आजको खेलमा जित निकाल्दै राम्रो कमब्याक गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।पहिलो खेलमा विराटनगर टाइटन्स पोखरा पल्टनसँग ५८ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने एक्स्पर्ट धनगढी १७ रनले काठमाडौं रोयल्ससँग पराजित भएको थियो । राष्ट्रिय क्रिकेट टोलीका उदयमान खेलाडी ऐरी र लामिछानेबीच पीपीएलमा आइतबार भिडन्त हुँदैछ भने दुवै जनाले एक—अर्कालाई रोक्ने रणनीतिका साथ मैदान उत्रिनेछन् ।

आजै दिउँसो सवा १ बजे सुरु हुने खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्स शरद भेषावकरको टिमविरुद्ध खेल्दैछ । यसअघि खेलेका खेलमा दुवै टोलीले जितेका छन् । बुटबलले चितवन राइनोजलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

बुटबलका कप्तान रहेका अलराउण्डर सोेमपाल कामीले पहिलो खेलमा चितवनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने पोखराका हिटर ब्याट्सम्यान विनोद भण्डारीले विराटनगर विरुद्ध विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ४१ रन बनाएका थिए । बुटबल र पोखराबीचको खेल निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।