ने क पाको चियापानमा वैद्यदेखि विप्लवसम्मलाई निम्तो

७ कार्तिक २०७५, बुधबार २०:१७

नेपाल कम्युनिस्ट पार्टी ने क पा ले एकीकरणपछि पहिलो पटक चियापानको आयोजना गर्न लागेको छ ।

नेपालीहरूका प्रमुख चाड, दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद, ल्होछारलगायत पर्वका अवसरमा कात्तिक १० गते भृकुटीमण्डपमा पार्टीले सार्वजनिक चियापान कार्यक्रमको आयोजना गरेको हो ।चियापानमा २५० विदेशी कूटनीतिक नियोग, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसन प्रमुख, राजदूतहरू र ५० हजार पार्टी समर्थक, शुभेच्छुकहरूलाई निमन्त्रणा कार्ड बाँडिएको कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।यद्यपि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछिको चियापान भएकाले पाहुना, आगन्तुक बढ्ने भएकाले सोही हिसाबले व्यवस्थापन गरिएको श्रेष्ठको भनाइ छ ।

सत्तारूढ दलसमेत रहेको ने क पा चियापानको आयोजक रहे पनि कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष नहुने र हार्दिकता साटासाटमात्रै हुने श्रेष्ठको भनाइ थियो । सदनमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष होला,कात्तिक दश गते भृकुटी मण्डपमा आउने सबै देश निर्माण पक्ष हो । सबै मिलेर एकताको सन्देश दिन चियापानको आयोजना गरेका हौँ ।झन्डै पाँच घन्टा चल्ने चियापानमा १२ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टीका समर्थक, शुभेच्छुक चियापानमा सरिक हुनेछन् । त्यसपछिको समय भनेको अति विशिष्ट र विशिष्ट पाहुनाहरूका लागि छुट्याइएको छ ।

ठूलो कम्युनिस्ट पार्टी आयोजक रहेको चियापानमा सदनमा रहेका तथा सदनभन्दा बाहिर रहेका सबै दलका केन्द्रीय तहका नेतासम्मलाई निम्तो दिइएको छ । त्यस्तै नेकपा क्रान्तिकारीका मोहन वैद्यदेखि नेकपाका नेत्रविक्रम चन्द विप्लवसम्मलाई निम्तो दिइएको छ । यद्यपि विप्लवको ठेगाना पत्ता नलागेर सार्वजनिक सूचना पठाइएको श्रेष्ठले बताए ।
उहाँको ठेगाना पत्ता लागेको छैन । सञ्चारमाध्यममार्फत् नै उहाँलाई पुनः निम्तो गर्न चाहन्छु श्रेष्ठले ठट्यौली पारामा भने ।

चारैवटा सुरक्षा अंग प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी, पार्टी प्रमुख, केन्द्रीय तहका नेता, राजदूत, अन्तर्राष्ट्रिय मिसन प्रमुखलगायत देशका अति विशिष्ट, विशिष्ट व्यक्तित्व आगन्तुक रहने चियापानमा सुरक्षा सावधानी उत्तिकै अपनाइएको श्रेष्ठको दाबी छ । बुधबारै महासचिव विष्णु पौडेलले कार्यक्रम स्थलको अवलोकन गरेका छन् भने चारवटा सुरक्षा घेरामा कार्यक्रम गरिने आयोजकको दाबी छ ।३०० बढी स्वयम्सेवक दस्ताले निम्तालु, आगन्तुकलाई चियापान स्थलमा सहजीकरण गर्ने र विशिष्ट पाहुनालाई पार्टी अध्यक्ष, सचिवालयका नेता रहेको ठाउँमा ‘पुर्याउने उनले बताए । ने क पाका नेता विनोद श्रेष्ठ, प्रल्हाद बुढाथोकीले स्वयंसेवकको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

कूटनीतिक नियोग प्रमुखलगायतका अतिथिलाई सचिवालयका नेता माधव नेपाल, प्रवक्ता नारयणकाजी श्रेष्ठ, विष्णु रिमाल, महेन्द्र पाण्डे, राजन भट्टाराईलगायतले स्वागत–सत्कार गर्नेछन् ।

नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूलाई भोला पोखरेल, पुण्य ढकाल, विश्वनाथ व्याकुरेललगायत पेशागत संघ–संगठनका नेताहरूले आतिथ्यता दिनेछन् ।र्वसभामुख, सभामुख, संसदीय दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेतालाई पम्फा भुसाल, सुवास नेम्वाङ, देव गुरुङ, खिमलाल भट्टराई, परशुराम मेघी गुरुङ, दिनानाथ शर्मा, रामनारायण बिँडारीलगायतका नेताले स्वागत गर्ने श्रेष्ठले बताए ।नेपालमा राजनीतिक चियापान कार्यक्रमको थालनीको श्रेय दिवंगत नेता गणेशमान सिंहलाई जान्छ । सिंहले जनआन्दोलनको वर्ष ०४६ सालमा आफ्नो निवास चाक्सीबारीमा चियापान कार्यक्रम आयोजना गरेर एकता, मेलमिलाप र सहकार्यको सन्देश दिएका थिए तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले ०५१ सालमा प्रधानमन्त्री भएका बेला चियापान कार्यक्रम आयोजना गरे । त्यसपछि एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान कार्यक्रमको आयोजना गर्दै आएको भए पनि भूकम्पपछि त्यसको शृंखला टुटेको थियो ।