नेपाललाई चीनले साढे दुई अर्ब सैन्य सहयोग गर्ने

११ कार्तिक २०७५, आईतवार १४:०२

 

कात्तिक, काठमाडौं । चीनले नेपाललाई दुई अर्ब ५३ करोड १५ करोड युआन बराबरको सैन्य सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच शनिबार हस्ताक्षर भएको हो ।

सम्झौतामा चीनको रक्षा मन्त्रालयले नेपालको रक्षा मन्त्रालयमार्फत मानवीय विपत् तथा राहतको क्रममा प्रयोग हुने उपकरणहरू प्रदान गर्ने उल्लेख छ । दुबै पक्षले सहयोग सामग्री कस्तो र कति परिमाणमा लिने वा दिने सामानको डेलिभरी कहाँ गर्ने भन्ने विषयमा भने छलफल हुन बाँकी छ ।

पाँच वर्ष अवधि रहेको सम्झौता अनुसार उपकरण नेपालसम्म चीनले आफ्नै खर्चमा ल्याइदिने भएको छ । स्वदेश आइसकेपछिको खर्च भने नेपाल स्वयमले व्यवहोर्नुपर्नेछ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्घेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
उपप्रधानमन्त्री पोखरेललाई चीनीयाँ जनमुक्ति सेनाको मुख्यालयमा एक सैनिक टुकडीले गारत सम्मान अर्पण गरेको थियो ।