दशैंको मुखमा महंगियो तरकारीको भाउ

१७ आश्विन २०७५, बुधबार १०:२२

 

काठमाडौं । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ ।

विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे ।

गत भदौ १६ गते र असोज १६ गतेको बजार तुलना गर्दा धेरैको मूल्य बढेको पाइयो । कुनै तरकारीको मूल्य ७२ प्रतिशतसम्म वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भदौ १६ गते गोलभेँडा सानो प्रतिकेजी ५५ रुपैयाँ तोकेको थियो । तर, यही गोलभेडा असोज १६ मा आइपुग्दा ६५ रुपैयाँ पुगेको छ । त्यतिबेला प्रतिकेजी २ सय ५ रुपैयाँ रहेकोे हरियो लसुन अहिले महंगिएर २ सय ९५ रुपैयाँमा उक्लेको छ ।

यस्तै, रातो आलु प्रतिकेजी ५८ रुपैयाँबाट ६८ रुपैयाँ, बोडी ६५ बाट ९५ रुपैयाँ, तितो करेला ५५ बाट ९५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ ५५ पुगेको छ ।

तरकारी मात्र नभएर फलफूलको मूल्य पनि बढेको छ । भूइकटहरको मूल्य १०५ रुपैयाँबाट ११५ रुपैयाँ र तरबुजा ५५ रुपैयाँबाट ६५ रुपैयाँ कायम भएको छ ।

अन्य धेरै तरकारीको मूल्य बढेको छ । यद्यपि, गाजर, बन्दा, काउली लगायतका तरकारीको मूल्यमा केही कमी आएको पाइएको छ । यसैगरी, मूला, भन्टा, घिउ सिमी, भटमास कोशालगायतका केही तरकारीहरुको मूल्य स्थिर छ ।

दशै नजिकिँदै गर्दा तरकारी तथा फलफूलमा कालोबजारी हुने गरेको छ । कडा अनुगमन गरेर मूल्यवृद्धि रोक्ने काममा सरकार लाग्नु पर्ने आबश्यकता देखिएको छ ।