थाइल्याण्डलाई बराबरीमा रोक्ने नेपालको लक्ष्य

६ कार्तिक २०७५, मंगलवार १३:५२

नेपाली यु–१९ महिला फुटबल टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले थाइल्याण्डलाई बराबरीमा रोक्ने बताएका छन् । मंगलबार भएको प्रिम्याच कन्फ्रेरेन्समा प्रशिक्षक श्रेष्ठले थाइल्याण्ड बलियो टोली भएपनि बराबरीमा रोक्ने रणनीतिमा रहेको बताए ।

उनले भने घरेलु टोली बलियो छ तर हामी बराबरी गर्नेछौं । डिफेन्सलाई बलियो बनाउँदै काउन्टर अट्याकमा गोल गर्ने प्रयासमा हुनेछौं ।” नेपाली महिला टोलीले भोलि बुधबार आयोजक थाइल्याण्डविरुद्ध खेल्दै एएफसी यु–१९ च्याम्पीनसिप छनोटमा यात्रा सुरु गर्दैछ ।
अर्को चरणमा पुग्ने उद्देश्यसहित नेपाली टोली सोमबार थाइल्याण्ड पुगेको छ । आयोजकको हैसियतले थाइल्याण्डले अर्को चरणको यात्रा पक्का गरिसकेको छ भने नेपालले अब अर्को चरणका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । प्रशिक्षक श्रेष्ठले भने हामी अर्को चरणका लागि गर या मरको अवस्थामा छौं । खेलाडीले शतप्रतिशत प्रदर्शन गर्नेमा आशावादी छु । थाइल्याण्डको खेल इन्टरनेटमा हेरेर त्यहीअनुसार तयारी गरेका छौं । उनीहरुको फर्वाड निकै बलियो छ, हामी त्यसलाई रोक्नेछौ ।

भुटानमा सम्पन्न यु–१८ साफबाट बटुलेको अनुभव अबको खेलमा पस्कने प्रशिक्षकको दाबी छ । साफबाट टोलीले आफूलाई प्रमाणित गरिसकेको छ । यु–१९ टिममा पनि त्यहि खेलाडी समावेश छन् । अनुभवी राष्ट्रिय टोलीका सरु लिम्बू, अन्जना रानामगर र मन्जली योन्जन छन्, जसले उत्कृष्ट प्रदर्शन गर्न सहज हुनेछ, उनले भने ।
टोलीकी कप्तान सरु लिम्बुले जितका लागि मैदान उत्रिने बताइन् । थाइल्याण्डको बलियो पक्षविरुद्ध खेलाडी सचेत छन् । प्रशिक्षकको रणनीति र सुझावअनुसार खेल्नेछौं । जित निकाल्नेमा विश्वस्त छु ।

बुधबार बेलुका सवा ६ बजे थाइल्याण्डसँग खेल्दै यात्रा सुरु गर्ने नेपालले दोस्रो खेल शुक्रबार भारत र समूहको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग खेल्नेछ । च्याम्पीयनसिप छनोटमा ६ समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक राष्ट्र र बाँकी दुई उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । दोस्रो चरणको छनोट खेल आगामी अप्रिलमा हुनेछ ।