कांग्रेस विधान मस्यौदा तयार, विकल्पसहित अहिलेकै व्यवस्था कायम राखिने

१२ कार्तिक २०७५, सोमबार १५:३२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदा लेखन कार्य अन्तिम चरणमा पुर्याएको छ । समितिले गठन गरेको मस्यौदा लेखन समितिले साविकबमोजिम नै पदाधिकारी संख्या रहने गरी विधानको मस्यौदा तयार गरिरहेको छ ।

केन्दीय विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदा लेखनका लागि समितिका संयोजकसमेत रहेका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेताहरु रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना र डा। मिनेन्द्र रिजाल सदस्य रहेको मस्यौदा लेखन समिति गठन गरेको थियो । मस्यौदा लेखन समितिका सदस्य लेखकले विधानको मस्यौदा लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार बस्ने केन्द्रीय विधान संशोधन मस्यौदा समितिको बैठकमा सदस्यहरुलाई मस्यौदा अध्ययनका लागि उपलब्ध गराइने छ । केन्द्रीय पदाधिकारीको संख्या र चयन प्रक्रियाका बारेमा संस्थापन इतर समूहले व्यापक असन्तुष्टि पोख्न थालेपछि मस्यौदा लेखन समिति अहिलेकै विधानमा भएको व्यवस्था अनुरुप नै केन्द्रीय कार्यसमितिको पदाधिकारी राख्ने मनस्थितिमा देखिएको छ ।