अख्तियारले निरन्तर अनुगमन गर्ने

२६ आश्विन २०७५, शुक्रबार ०९:३१

 

पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताउनुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताउनुभएको हो ।

आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उहाँले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गर्नुभयो । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उहाँले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उहाँले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गर्नुभयो । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिनुभयो ।