सशस्त्र प्रहरीकै अगाडि नेकपा नेताको हत्या, हत्यारा भारतर्फ भागेको खुलासा, आफुलार्इ आदेश नभएको भन्दै प्रहरीले गरेन पक्राउ

४ आश्विन २०७५, बिहीबार १६:१८

हत्या गरिएका स्व खुर्सिद अन्सारी

सुनसरी । सुनसरीमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका जिल्ला नेताको दिउसै गोली हानी विभत्स हत्या गरिएको छ । सुनसरीको भुताहा स्थीत नेकपा जिल्ला नेता तथा एक बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका ४ जना व्यक्तिले हत्या गरेका हुन् ।

उनीहरु नेताको हत्या पछि भारत तर्फ भाग्न सफल भएका छन् । यो समाचार नेपाल खबरमा छ ।

समाचारमा भनिएको छ्, बिहीबार बिहान सुनसरीको भुताहामा नेकपाका जिल्ला नेता तथा स्थानीय एउटा बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका ४ जना व्यक्तिले हत्या गरे। र, हत्याराहरु सुरक्षित रुपमा भारततर्फ भाग्न सफल भए।

घटनास्थलमै रहेका नेकपाका स्थानीय नेता तथा स्थानीयवासी दिलु मियाले टेलिफोन सम्पर्कमा घटनाबारे यसरी बेलिबिस्तार लगाएः

हत्या गरिनुभएका खुर्सिद अन्सारी स्थानीय स्तरमा पढालेखा मानिस हो। उहाँ बुद्धिजीवी वर्गको मानिस हुनुहुन्थ्यो। आफ्नै लगानीमा भुताहामा एउटा बोर्डिङ स्कूल स्थापना गर्नुभएको छ।

साथै, नेकपामा पनि सक्रिय हुनुहुन्थ्यो। एकता अघि एमालेको जिल्ला कमिटीको सल्लाहकार हुनुहुन्थ्यो।

बिहान साढे १० बजेतिर उहाँ स्थानीय चियापसलमा चिया खाएर घर फर्कँदै हुनुहुन्थ्यो। फर्कँदै गर्दा एक्कासी मोटर साइकलमा आएकामध्ये एक जनाले उहाँको कञ्चटमा गोली हान्यो। र, भाग्यो।

भुताहाबाट भारतीय सीमाना ७ किलोमिटर मात्र टाढा छ। सीमानासम्म पुग्ने एउटा मात्र बाटो छ। पिच गरिएको त्यो बाटो बाहेक अर्को बाटो छैन।

गोली हानेर गएका हत्याराहरुलाई मोटरसाइकलमै पछ्याउँदै हाम्रा साथी जाँदै थिए। भारतीय सीमाना पुग्नु अगाडि घुस्की भन्ने ठाउँमा प्रहरी चौका छ। त्यहाँ ६ जना प्रहरी थिए।

हत्याराहरु अगाडि–अगाडि, हाम्रा साथीहरु पछाडि–पछाडि थिए। उनीहरुले तीब्र रफ्तारमा मोटर साइकल हाँकेका थिए। पछ्याएका हाम्रा साथीहरुको रफ्तारपनि तीब्र थियो।

जब प्रहरी चौकीनिर पुगे, हाम्रा साथीहरु कराए, ‘यिनीहरु हत्यारा हुन्। त्यसैले, बाटो छेक, पक्र। एउटा प्रहरी अगाडि आएर बाटो छेक्दाछेक्दै उनीमाथि पनि दुई गोली चलाए। उनी ढले।

प्रहरीलाई समेत गोली हानेर अघि बढेका उनीहरुलाई साथीहरुले पछ्याउन छाडेनन्। सीमानानेर सशस्त्र प्रहरीको क्याम्प थियो। त्यहाँसम्म तिनीहरुलाई खेद्दै जाँदा पक्रन सकिन्छ भन्ने थियो।

घुस्कीमा जस्तै साथीहरुले सशस्त्र प्रहरीको क्याम्पनिर पुगेपछि पनि कराए, ‘यिनीहरु हत्यारा हुन्, यिनीहरुले प्रहरीलाई र अर्को एक जनालाई गोली हानेका छन्’ भन्दै।

सीमानामा रहेको सशस्त्र प्रहरीको क्याम्पका इन्सपेक्टरलाई पनि घटनाबारे जानकारी गराउन फोन गरिएको थियो। उनीहरु सीमानामा पुग्ने एउटैमात्र बाटो भएकाले त्यहाँ रहेको सशस्त्र प्रहरीले उनीहरुलाई पक्रन सक्छ भन्ने विश्वास थियो।

तर, न इन्सपेक्टरले फोन उठाए, न हाम्रा साथीहरुले उनीहरुलाई ‘पक्रनु, गोली हान्नु’ भन्दा त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले कुनै रेस्पोन्स गरे। ‘हामीलाई कुनै आदेश छैन’ भन्दै उनीहरु चुप लागेर बसे। र, हत्याराहरु सजिलै सीमापारि पुग्न सफल भए।