कात्तिक १६,१७ र १८ गते महाधिवेशन गर्ने नेविसंघको निर्णय

२६ भाद्र २०७५, मंगलवार ०९:४१

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेशन आगामी कात्तिक १६,१७ र १८ गते गर्ने तय भएको छ । नेविसंघको गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

तस्विरः चन्द्र वि.क, नेविसंघको केन्द्रिय सयस्य

पार्टी केन्द्रीय कार्यालय सानेपामा गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले कात्तिक १६,१७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका विषयहरु समेटेर सबैसँग समन्वय गरि भदौ २७ गतेभित्र संघको संसोधित विधान नियमावली –२०७५ पार्टीलाई बुझाउने निर्णय पनि गरेको छ ।

विधान नियमावली पार्टीबाट अनुमोदन भएपछि क्याम्पस र जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउँदै सम्बन्धित अधिवेशनहरु सम्पन्न गरिने तय भएको छ । जसअनुसार असोज ७ गते देशैभरका मावि र क्याम्पस अधिवेशन, असोज १२ गते गाउँपालिका , उप– महा–नगरपालिका अधिवेशन, असोज १५ गते प्रदेश क्षेत्र अधिवेशन, असोज २१ गते ७७ वटै जिल्लामा जिल्ला अधिवशन, ९ असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ गते ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तय भएको छ। बैठकले उमेरको ३२ वर्षको लाग्ने भनिएको हदबन्दी हटाएको पनि बताइएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए । सोही कार्यतालिकाअनुसार नेविसंघको बैठकले महाधिवेशनको निर्णय गरेको हो । नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि कांग्रेसले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो ।

दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन सकेको थिएन । तर, भदौ २ गते नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो ।