‘कांग्रेसलाई बस्दा बस्दा नशा च्यापिएको छ’ अरिङ्गालले टोक्दा कांग्रेसलाई औषधि नै हुन्छः योगेश भट्टराई

३ आश्विन २०७५, बुधबार १८:१०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले ‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ यसैले अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै व्यग्य गरेपछि यसको प्रतिउत्तरमा नेता भट्टराईले यस्तो बताएका हुन् ।  टिप्पणी गर्ने क्रममा नेता भट्टराईले ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ । त्यसकारण अरिङ्गाल औषधी हो’ भनेका थिए ।

केहीदिन अघि नेकपाका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरोधीहरुविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन गरेका थिए । यसलाई लिएर विपक्षी कांग्रेसका नेताहरुले सरकार र सत्तारुढ नेकपामाथि व्याङ्ग्य गर्ने गरेका छन् ।

नेकपाका नेता भट्टराईले भने प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने भन्दै प्रधानमन्त्रीको बचाउ गरेका छन् । ‘प्रसंगवश आएका कतिपय कुराहरुलाई मुख्य धारणा बनाउने हो भने फसिन्छ’ नेता भट्टराई भन्छन्, ‘यस्ता शब्दकै पछि लाग्ने हो भने धेरै भाषण गर्न सकिन्छ ।’

बिभिन्न समयमा बिभिन्न नेताहरुले प्रसंगवश आएका शब्द चर्चामा आउने गरेको स्मरण गर्दै नेता भट्टराईले भने,’२०४७ सालको अन्तरिम सरकारमा गृहमन्त्री थिए योगप्रसाद उपाध्यय । त्यो बेला पनि महिला हत्या, वलत्कारका घटनाहरु भइराखेको थियो । महिलाहरु डेलिगेशन गए । त्यसबेला उनले भने्, अब महिलाहरुले नङ् पाल्नुपर्‍यो, खुर्सानीको धुलो बोकेर हिड्नुपर्‍यो ।’

नेता भट्टराईले अघि भने, ‘त्यही थियो त राज्यको धारणा ? त्यस्तो थिएन र प्रसंगवश उनले भने । मलाई विश्वास छ आजका गृहमन्त्रीले खुर्सानीको धुलो बोक र नङ पाल भन्नुहुन्न ।’

नेकपाका नेता भट्टराई र कांग्रेस प्रवक्ता शर्माले प्रेस स्वतन्त्रताबारेमा समेत फरक-फरक धारणा राखेका छन् । ‘सरकार प्रेसलाई स्वतन्त्र नराख्न उद्धत रहेको कांग्रेस प्रवक्ता शर्माको आरोप छ । समाचार लेख्नेलाई स्पष्टीकरण ।

समाचार साभार गर्नेलाई हतकडी । के हो यो ?’ प्रवक्ता शर्माले प्रश्न गरे लोकतन्त्रमा स्वतन्त्र नभएको प्रेस कहिले स्वतन्त्र हुन्छ ?’ अहिलेको उपलब्धी प्राप्त हुनुमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै उनले अहिले आएर उपेक्षा गर्न नहुनेमा जोड दिए । त्यसको जवाफमा नेकपाका नेता भट्टराईले सरकारले प्रेसलाई कुनै कोणबाट नियन्त्रणमा राख्ने प्रयत्न नगरेको बताए ।

पत्रकार नै कारोबारमा फसेको, गुण्डागर्दीमा फसेको, महिला बेचविखनमा फसको वा मानव बेचविखनमा संलग्न रहेको अवस्थामा राज्यले त्यसबारे छानबिन गर्न सक्ने भन्दै नेता त्यस्ता घटनालाईसमेत प्रेस स्वतन्त्रतासँज जोड्न नहुने बताए । आफूलाई प्राजातान्त्रिक भन्नेहरुले नै प्रेसलाई नियन्त्रणमा राखेको धेरै उदाहरण रहेको उनको भनाइ छ ।