हेलिकप्टरले लिन्छ उत्तरी गोरखा बासीको ज्यान

२४ भाद्र २०७५, आईतवार १६:२०

उत्तरी गोरखा बासीले हेलिकप्टरकै कारण ज्यान गुमाउदै आएका छन् । सडक सञ्जालले नछोएको यस ठाउँमा सडक सञ्जालकै अभावका कारण धेरै जनाले अकालमै ज्यान गुमाए । धेरै गर्भवति महिलाले सजारी अभावकै कारण अस्पताल सम्म पुर्याउन नसक्दा ज्यान गुमाएका छन् भने धेरैले विरामी परेको समयमा उपचार नपाउदा ज्यान गुमाएका छन् ।


तर, केहि समय पहिले उत्तरी गोरखा स्थीत मनास्लु क्षेत्रको चुमनुब्री गाउँपालिकाका सात वटै वडाहरुः सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दीबास, चुम्तेत र छेकम्पार लगायतका स्थानहरुमा बाध्यकारी यातायातको साधन हेलिकोप्टर उपलब्ध गराईयो ।
ज्यान जोगाउन र बाध्यता पर्दा प्रयोग गर्न दिईएका ति हेलिकप्टरकै कारण अधिकांस मान्छेहरुले ज्यान गुमाउनु परेको छ । वर्षेनी मान्छेहरु हेलिकप्टरकै कारण ज्यान गुमाई रहेका छन् । कुनै समयमा मानिसहरुले हेलिकप्टर नै नपाएर ज्यान गुमाई रहेको छ । पछिल्लो समय यस स्थानका बासिन्दाले उपचार र सवारी साधन नपाएर होईन हेलिकप्टर चढेर ज्यान गुमाई रहेका छन् ।

शनिबार सामागाउँबाट राजधानी फर्करहेको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भयो । हेलिकप्टर नुवाकोटको म्यागाङ गाउँपालिका १ बर्सुन्चेत मैलुङपाखाको खोल्सामा खस्यो । जसमा ८ जनाले ज्यान गुमाई सकेका छन् । हेलिकप्टरमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जनाको उपचारको क्रममा आज मृत्यु भयो ।
हेलिकप्टर दुर्घटनामा परिज्यान गुमाउनेमा पाइलट निश्चल केसी, ल्हो घर भई साम्दोमा होटल व्यवसाय गर्दै आएका छेवाङ नोर्बु लामा, सिन्धुपाल्चोकका सुनील तामाङ, रामेछापका दिलबहादुर गुरुङ, दोलखाका हीरा शेर्पा र जापानी नागरिक हिरोमी कोमात्सुको घटना स्थलमै निधन भयो । यस्तै गोरखा ल्होका डोल्मा डिकी लामा हाम्फालेर ज्यान जोगाए पनि गम्भीर घाइते बने ।

सामागाउँबाट बिहान पौने आठ बजे उडेको उक्त हेलिकोप्टर धादिङको बेघाम गाउँपालिका ४ को जंगलमा दुर्घटनाग्रस्त भएको थियो।

यसअघि उपचार गर्न जानका लागि समयमै हेलिकोप्टर नपाएर बिहीबार एकै दिनमा चुमनुब्री गाउँपालिकामा नवजात शिशुसहित दुई जनाको मृत्यु भएको थियो। वडा नं १ सामागाउँकी छिरिङ लामाको नवजात शिशु र वडा नं ५ चुम्चेतकी ५५ वर्षीया प्रेमभुटी लामाको मृत्यु भएको सामागाउँका दावा लामाले जानकारी दिए।

बुधबार दिउँसैदेखि छिरिङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले थप उपचारका लागि काठमाडांै लैजान सिफारिस गरेका थिए। तर समयमै हेलिकोप्टर नपाउँदा छिरिङ गाउँमै सुत्केरी भएकी धावाले बताए। ‘मैले हेलिकोप्टरलाई हिजै बेलुका फोन गरेको थिएँ’, दावाले भने ‘कम्पनीले हेलिकोप्टर भोलि पठाउँछु भन्यो तर पठाएन। हामी कुरेर बस्यौं। हेलिकोप्टर आएन। दिउसो छिरिङले छोरा जन्माइन्, तर जन्मनासाथ म¥यो।’ बच्चाको ज्यान गएपछि आमाको अवस्था पनि जटिल रहेको उनले बताए । ‘आमाको पनि हातखुट्टा सुन्निने, बेहोस हुने, होस खुल्ने भइरहेको छ’ धावाले भने।

२० दिनदेखि ज्वरोले थलिएकी चुम्चेतकी ५५ वर्षीया प्रेमभुटी लामाको पनि बिहीबार नै ज्यान गयो। स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराउँदै आएकी प्रेमभुटीलाई व्यथाले च्याप्दै लगेपछि थप उपचार अभावमा ज्यान गएको उनकी बहिनी छोटिन् लामाले बताइन्। ‘यहाँको स्वास्थ्यचौकीले दिएको औषधिले निको भएन। बुधबार ऋण खोजेर भएपनि जचाँउन जाने भनेर हेलिकोप्टर बोलाएका थियौं तर आएन। बिहान ८ बजेतिर दिदीको मृत्यु भयोे’, उनले भनिन्।

२०७३ साल साउन २४ गते सिर्दीबासबाट काठमाडौंका लागि बिरामी लिएर उडेको हेलिकोप्टर दुर्घटनामा पनि चालकसहित ६ जनाको मृत्यु भएको थियो। नुवाकोटमा भएको यो दुर्घटनामा सिर्दीबास नाक्चेतको एउटै घरका चार जनाको मृत्यु भएको थियो।

२०७२ जेठ ३१ गते चुमनुब्री १ साम्दो पुगेको सिम्रिक एयरको हेलिकोप्टर अवतरण गर्ने क्रममा जल्यो। जलेर पूर्ण रुपमा खरानी भएको सो हेलिकोप्टरमा सवार सरकारी कर्मचारी तथा एनजीओको ६ जना कर्मचारीलाई भने सकुशल उद्धार गरिएको थियो।

उपचार गराउन राजधानी लैजान बोलाएको हेलिकोप्टर समयमा आउन नसक्दा २०७४ जेठ २० मा साम्दोकी दुई महिने शिशुको मृत्यु भएको थियो भने सुत्केरी ब्यथाले एक सातादेखि थला परेकी सोही गाउँकी निमा दोर्जेले बेलैमा हेलिकोप्टर सेवा नपाउँदा मरेको बच्चा जन्माउनु परेको थियो। २०७२ मंसिर १५ मा पनि नौ महिने शिशु समयमा हेलिकोप्टर सेवा नपाउँदा मृत्यु भएको थियो।

गाउँपालिका नै सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकाका लागि हेलिकोप्टर बाध्यात्मक सवारी साधन अन्तर्गत पर्छ। ‘मान्छे सिकिस्त भएर बिहान सिफारिस माग्यो भने एउटा मन्त्रालयले अर्को, अर्को मन्त्रालय, अर्कोले अर्को घुमाउँदा घुमाउँदै दिन बित्छ। दिउँसो दुई बजेपछि हेलिकोप्टर उडाउन सक्दैनन् अनि मान्छे मर्छ’, सामागाउँका कर्मा लामाले भने, ‘हेलिकोप्टर पाउनै गाह्रो, पायो भने पनि धेरैजसो दुर्घटना भइरहन्छ। मर्ने हो कि बाँच्ने हो, थाहा हुन्न।’

अहिले झन् यो क्षेत्रका लागि हेलिकोप्टर उडानमा कडाइ गरेकाले जटिल समस्या व्यहोर्नु परेको उनको गुनासो छ। ‘दुई चारजना अपराधीले अपराध कर्म ग¥यो भनेर सरकारले हजारौं चुमनुब्रीका बासिन्दालाई हेलिकोप्टर चार्टर गर्न पनि साह्रै समस्या पार्ने काम गरेको छ’, कर्मा भन्छन्, ‘अब नारा जुलुस गर्न जाने तयारी गरेका छौं, कडा गर्नुपर्ने कुरामा नगरेर सर्वसाधारणलाई दुःख दिने ठाउँमा मात्र कडाइ भएको छ। अब सिडिओ कार्यालयमा नारा जुलुस गर्न जाने कुरा भइरहेको छ।’

अरु गाउँमा जस्तै आफ्नो गाउँमा पनि मोटर चल्ने भए वर्षेनी हेलिकोप्टर दुर्घटनामा निर्दोष गाउँलेहरू मर्नु नपर्ने अर्का स्थानीय लाक्पा डुण्डुप लामाले बताए। ‘हाम्रो गाउँमा कहिले विकास आउँला र हेलिकोप्टर चढ्न पाए पनि मर्ने, नपाए पनि मर्ने अवस्थाको अन्त्य होला’, उनले भने, ‘गाउँमा मोटरबाटो पुगेको भए गरिब गाउँलेले सय कडा ३६ रुपैयाँ व्याजमा ऋण खोजेर हेलिकोप्टरबाट ढुवानी गरेको सामान किन्नु पर्दैनथ्यो।’