न्याय खोज्दै काठमाण्डौ आएकी छुः निर्मला पन्तकी आमा

२८ भाद्र २०७५, बिहीबार १५:५५

 

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले न्याय खोज्दै काठमाण्डौ आएको बताएकी छिन । आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

आज राजधानीमा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी राष्ट्रपति पनि एउटा आमा भएकाले आफ्नै छोरी सम्झिएर न्याय दिने आशा व्यक्त गरिन् ।

प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । ुन्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनू, तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।

न्याय नदिने भए आफूलाई गोली ठोक्न उनले सरकारलाई आग्रह गरिन् ।

न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला । मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस्, गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु ।

अहिलेसम्म हत्यारा पत्ता लागेर हाम्रोसामू खडा भएन । हामी न्याय खोज्न यहाँ आएका छौं ।