नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ प्रधानमन्त्री ओली

१० आश्विन २०७५, बुधबार १२:०८

न्यूयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन्।

संयुक्त राष्ट्र सङ्घको मुख्यालय ‘शान्ति स्थापनार्थ कार्य’एक्सन फर पिसकिपिङको उच्चस्तरीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताउँदै द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको बताए।

प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्र सङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको जानकारी दिए। उनले नेपालले राष्ट्रिय कठिनाइको समयमा पनि सैनिक तथा प्रहरी उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घ वडापत्रको सिद्धान्त तथा उद्देश्यप्रति वचनबद्धता प्रकट गरेको स्मरण गर्दै कर्तव्यको रेखामा आफ्नो जीवनसमेत बलिदान दिने ७३ शान्ति स्थापक तथा बहादुर सैनिक प्रति श्रद्धाञ्जलि व्यक्त गरे।

‘शान्ति स्थापनार्थ कार्य’एक्सन फर पिसकिपिङ को प्रयास यसै वर्ष मार्च २८ मा आरम्भ भएको हो। शान्ति स्थापनाका प्राप्ति तथा भोगिएका चुनौतीका विषयमा साझेदारी गर्नु तथा स्थगलगत रूपमा शान्ति स्थापना गर्ने कार्यलाई बलियो बनाउन सदस्य मुलुकको राष्ट्रगत तथा सामूहिक वचनबद्धता नवीकरण गर्नु एक्सन फर पिसकिपिङको उद्देश्य रहेको छ।