निर्माण व्यवसायी महासंघमा कार्कीको उम्मेदवारी घोषणा

३ आश्विन २०७५, बुधबार १६:४९

 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कार्कीले ५१ बुँदे घोषणपत्र सहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।

कार्कीले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफु निरन्तर लागि परेको उनको जिकिर छ ।

अहिलेको परिवेशमा निर्माण व्यवसाय प्रति सरकारी निकाय नागरिक समाजल गायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले म पूनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’

उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’ उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारे । उनले भने,‘क्षमता,

योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो । कार्कीले आफूले योग्य, सक्षम र क्षमतावान साथीहरुलाई समेटेर चाँडै टिम खडा गर्ने पनि जानकारी दिए । उनले भने,‘आज मेरोमात्रै उम्मेदवारी घोषणा भएको छ । अब सबै पक्षसँग छलफल गरेर हामी हाम्रो टिम घोषणा गर्छौं । अहिले हामी छलफलमै व्यस्त छौं ।’