निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई हुदैनः गृहमन्त्री थापा

११ आश्विन २०७५, बिहीबार १६:५८

 

काठमाण्डौ, महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारवाही गरिएको गृहमन्त्री रामबहादुर थापाले दावी गरेका छन् । गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको दावी गरे ।

 

बिहिबार महिला हिंसा न्यूनिकरण सम्बन्धी सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याए ।

गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानविनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे ।

गृहमन्त्री थापाले समितिसमक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी पनि गरे ।