नापी कार्यालय बुढानीलकण्ठका सर्वेक्षक सिंह घुस सहित पक्राउ

२ आश्विन २०७५, मंगलवार ११:५६

 

काठमाडौं–नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।