नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको निर्देशन

२२ भाद्र २०७५, शुक्रबार ११:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकलाई निर्देशन दिएका छन ।

‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गरे।

“वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर छ । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ,

राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलश्य नगर्ने, जिम्मेवारीवोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको निजामती प्रशासनले मात्र यो परिकल्पनालाई साकार पार्न सक्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।