दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

७ आश्विन २०७५, आईतवार १२:४१

 

काठमाडौं–राष्ट्रियसभाका सांसदहरुले दशैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापाले दशैं, तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारलाई ध्यानाकर्षण गराइन् ।
उनले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न पनि आग्रह गरिन् ।
सांसद रावलले दशैंमा राजधानीबाट घर जाने यात्रुहरुको यात्रालाई सहज हुनेगरी आवातजावतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुले परिचय पत्र तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
उनले शारीरिक रुपमा अशक्त नागरिकहरुलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरु राज्यबाट पाउने सुविधाबाट बञ्चित हुन पुगेकोतर्फ पनि सरकारलाई सचेत गराए ।

अर्की सांसद नैनकला ओझाले मोरङस्थित उर्जाबारी, कानेपोखरी, पथरी, शनिश्चिरे, बेलबारीलगायतका स्थान रहेका सुकुम्बासीहरुलाई तत्काल जग्गाधनी लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।