देशभर संविधान दिवस मनाई रहँदा प्रदेश २ मा सत्तारुढ दलले नै मनायो कालो दिवस

३ आश्विन २०७५, बुधबार १७:४९

काठमाडौं । आज देशभर संविधान पदवस मनाईरहदा प्रदेश २ मा भने कालो दिवस मनाईएको छ । ३ वर्ष पहिले अर्थात २०७२ साल असोज ३ गते आजैको दिन नेपालले विश्वकै उत्कृष्ट संविधान पाएको दिन हो । यसर्लाई आज देशैभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

नेपाल सरकारले आजको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाई रहेको छ । तर २ नम्बर प्रदेशमा भने आजको दिनलाई कालो दिनको रुपमा मानिएको छ ।

प्रदेश २ सरकारको नेतृत्व गरिरहेको दल संघीय समाजवादी फोरम नेपाल र सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालले संविधानको विरोधमा कार्यक्रम गरेको छ । फोरमको केन्द्रले विज्ञप्ती निकालेर कालो दिवस मनाउने कुनै निर्णय नभएको जनाएपनि प्रदेश पार्टिले भने यसलाई कालो दिवसको रुपमा मनाएको छ ।

संविधान संशोधनका लागि सत्तारुढ दलसँग कुरा मिलिसकेको र संविधान संशोधन हुने भन्दै फोरमको केन्द्रले कालो दिवस नमनाउने स्पष्ट पारेको छ । तर फोरमकै २ नम्बर प्रदेश कमिटी भने त्यसमा विश्वस्त छैन । त्यसैले फोरम र उसको सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालले २ नम्बर प्रदेशमा कालो दिवस मनाउने तयारी गरेका छन् ।

फोरम र राजपाको यस्तो निर्णयको आलोचना भइरहेको छ । जुन संविधानलाई मानेर चुनाव लडे, सांसद, मन्त्री र मुख्य मन्त्री भए, त्यही संविधानको विरोधमा कालो दिवस मनाउनुलाई यी दुई दलले नागरिकलाई मुर्ख बनाउन खोजेको समेत टिकाटिप्पणी भइरहेको छ । जनकपुर उपमहानगरपालिका २४ का अर्थहुसेन सिद्धीकीको यस्तै बुझाई छ । ‘संविधानमा भएको त्रुटी सच्याउन बरु नागरिकले कालो दिवस मनाउन उचित छ । तर त्यही संविधानअनुसार दुवै दल सत्तामा बसेर सबै सेवा सुविधा उपभोग गरेर संविधानको विरोधमा कालो दिवस मनाउनु भनेको नागरिकलाई मुर्ख बनाउन खोज्नु हो ।’

संविधान जारी भएलगत्तै तराई मधेसमा भएका आन्दोलनमा ज्यान गुमाएका मधेसी नागरिकलाई केन्द्र सरकारले शहीद घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधारमा संविधान संशोधन गर्ने आश्वासन दिएपछि राजपा र फोरम नेपालले सरकारलाई समर्थन गरेका छन् । जसमा फोरमका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत छन् । २ नम्बर प्रदेशमा फोरमकै लालबाबु राउत मुख्य मन्त्री छन् ।