ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा दुईको मृत्यु

२२ भाद्र २०७५, शुक्रबार ०८:४०

चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनमा पर्ने भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनमा परि मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् ।

उनीहरुलाई चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना ३ ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट्याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।