ईजरायलले बन्द गर्यो नेपाली कामदारको माग

२४ भाद्र २०७५, आईतवार १८:२१

नेपाली कामदारको माग गर्न ईजरायलले बन्द गरेको छ । नेपाल र ईजरायविच श्रम सम्झौता भएको एक वर्ष नपुग्दै ईजरायलले नेपाली कामदारको माग बन्द गरेको हो । हाल बन्द गर्ने वा नगर्ने बारे आधिकारीक छलफल नभएको भएपनि पछिल्लो समय नेपाली कामदारको माग सुन्य अवस्थामा पुगेको बैदेशिक रोजगार विभाग जनाएको छ ।
नेपाल र ईजरायलबीच सन् २०१५ मा सरकारीस्तरबाट नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रुपमा श्रम सम्झौता गरेको थियो । सम्झौता भएको तीन वर्ष पुगेपछि इजरायलले कामदारको माग नै बन्द गरेको छ ।

वैदेशिक रोजगार विभागले नेपालस्थित इजरायल दूतावासमा कामदार आपूर्तिमा देखिएका समस्या समाधानका लागि पटक–पटक पहल गरेको छ । तर, दूतावासले यस विषयमा प्रस्ट धारणा नराखेपछि इजरायलमा थप कामदार जान पाउने की नपाउने भन्ने अन्यौल बढेको छ ।

इजरायलको रोजगारीका विषयमा सरकारीस्तरमा कामदार पठाउने पहल र आवश्यक छलफल भइरहेको वैदैशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताएका छन्।

‘लामो समय बितिसक्दा पनि इजरायल जाने कामदारको संख्या न्यून भएको विषयमा दूतावासमार्फत् आवश्यक समन्वय र छलफल भइरहेको छ’ उनले भने, ‘इजरायलसँग भएको सम्झौता अनुसार कामदार आपूर्ति हुन सकेन। पछिल्लो समय इजरायलले कामदारको माग नै रोकेको छ। यो विषयमा यसै भन्न सक्ने अवस्था छैन।’

इजरायलले मागको ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाका आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको थियो।। इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन्।

तीन महिनाको ‘केयर गिभर’ तालिम लिएका वा नर्सिङ पढेकालाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ। यसै अनुसार पहिलो र दोस्रो चरणमा कामदार छनोट गरिएको थियो। विशेष गरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा इजरायलले केयर गिभर लिने गरेको छ।

खाडी र मलेसिया जान नचाहने नेपालीका लागि इजरायल राम्रो गन्तव्य मानिएको छ।

इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८ सय १८ जनाले दरखास्त दिएका थिए। त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए।

दोस्रो वर्ष करीव एक हजार जनाले आवेदन दिएका थिए। जसमा ६० जना अन्तिम छनोटमा परेपनि अन्त्यमा ४७ जना मात्र इजरायल पुगेको विभागको तंथ्याकमा उल्लेख छ।
तेस्रो वर्ष इजरायलले कामदारको माग नै नगरेको विभागका प्रवक्ता रिजालको भनाई छ।

समझदारी हुनुभन्दा अगावै परीक्षणका रुपमा ३ सय कामदार लगेको इजरायलले वार्षिक १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन सहितको सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाई छ। तर, यो विषय सम्झौतामा उल्लेख नै गरिएको थिएन।

तीन वर्षमा ३ सय कामदार आपूर्ति गर्ने समझदारी भएपनि यो अवधिमा १ सय ६ जना मात्र इजरायल पुगेको विभागको तंथ्याक छ। सम्झौतामा भनिए जति कामदार पनि इजरायल आपूर्ति हुन सकेन।

इजरायल सरकारले पछिल्लो समय म्यानपावर कम्पनीमार्फत् नेपालबाट श्रमिक आपूर्ति गर्ने मनसाय देखाएको छ।इजरायलको रोजगारी संकटमा पार्न रोजगारदाता कम्पनीसँगै नेपालका म्यानपावर कम्पनीले समेत चलखेल गरेको श्रम मन्त्रालयको बुझाई छ।

म्यानपावर व्यवसायीले बढी रकम असुलेको भन्दै सरकारले म्यानपावरलाई कामदार पठाउन रोक लगाएर आफैं पठाउन थालेपछि म्यानपावर व्यवसायी रुष्ट बनेका थिए। इजरायलको रोजगारी रोक्ने बन्द गर्नेसम्म चलखेल व्यवसायीले सुरु गरेको विभागका एक कर्मचारीको भनाई छ।

म्यानपावर कम्पनीले श्रमिक आपूर्ति गर्दा रोजगारदाता कम्पनीलाई कमिसन दिँदै आएका थिए। जसका कारण इजरायलका रोजगारदाताले सरकारस्तरबाट कामदार आपूर्ति गर्ने नरुचाएको विभागको बुझाई छ।

केयर गिभरका लागि इजरायल जाने कामदारले न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक पाउने सरकारले जनाएको छ।

इजरायल जाने कामदारले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ। उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउँछन्।