आजका खबरपत्रिकाः नारायणहिटीभित्रै सीमा विवाद

११ भाद्र २०७५, सोमबार ०८:०३

मिलाइदिन सरकारसँग गुहार

काठमाडौंबाट प्रकाशित आजको खबरपत्रिकाहरुले बिम्स्टेक शिखर सम्मेलनलाई प्राथमिकताका साथ छापेका छन् । विस्म्टेकको एजेन्डा र यसको तयारीबारे पत्रपत्रिकाहरुले विभिन्न जोड–कोणबाट व्याख्या–विश्लेषण गरेका छन् । यस्तै केही खबर पत्रिकाहरुलेभने कञ्चनपुर हत्या प्रकरणलाई गम्भीरतापूर्वक उठाइरहेका अखबारहरुमध्ये केहीले आज पनि यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।

त्यसैगरी, वित्त आयोगले पूर्णता नपाउँदा कर विवादमा मुलुक फसेको, आधा दर्जनभन्दा बढी बीमा कम्पनी सीईओविहीन बनेको, वायु सेवा निगम व्यवस्थापनको कमजोरीका कारण विमान थन्किएको, मोदी सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेको, नारायणहिटी दरबारभित्रै सीमा विवाद भएकोलगायत समाचारहरुले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

भित्री पृष्ठमा गरिबी निवारण कोषको ३१ अर्बको डाटा जोखिममा परेको, सरकारसँग वार्तामा बस्न विप्लव सकारात्मक देखिएकोलगायत खबर छन् ।

निर्मला पन्त हत्या प्रकरणबारे मुख्य समाचार लेखेको नागरिक दैनिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ अग्रिम रुपमा भारतीय सुरक्षाकर्मी आइपुगेको लेखेको छ ।

नागरिक लेख्छ– मोदीसहित बिम्स्टेक राष्ट्रका राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको क्लोज प्रोटेक्सन सुरक्षाका लागि १३ सदस्यीय भारतीय सुरक्षाकर्मीको टोली काठमाडौं आइपुगेको हो ।’

समाचार अनुसार भारतीय सुरक्षाकर्मीको टोली शनिबार दिउँसो ३ वटा गाडीसहित १३ जनाको टोली नेपाल आइपुगेको हो । मोदीसँगै पनि सुरक्षाकर्मी आउँदैछन् । तर त्यसको संख्या यकिन भइसकेको छैन ।
अन्नपूर्ण पोष्टले बिम्स्टेक शिखर सम्मेलनको एजेण्डाबारे चर्चा गरेको छ । बिम्स्टेकको मुख्य एजेण्डा रेल र सडक सञ्जाल हुने अन्नपूर्णको समाचारमा उल्लेख छ ।

कञ्चनपुर घटनाबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले नेकपाको जिल्ला नेतृत्व सिफारिसमा माधवकुमार नेपाल समूह असन्तुष्ट भएको छापेको छ ।

गोरखापत्रले कर्मचारी समायोजनमा भइरहेको ढिलाइलगायत विषयमा उठाएको छ भने राजधानीमा विम्स्टेकका पाँच प्राथमिकताबारे चर्चा गरिएको छ ।

नेपाल समाचारपत्रले नारायणहिटी दरबारभित्रै सीमा विवाद भएको समाचार लेखेको छ । नारायणहिटी दरबार संग्रहालय र सेनाबीच सीमा विवाद भएको हो ।

समाचार अनुसार, ७ सय ७४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांश भाग नेपाली सेनाले ओगटेको छ । जसका कारण गुरुयोजना निर्माणमै समस्या भएको छ । गुरुयोजना निर्माणमा सीमानाका कारण समस्या भएपछि समितिले सरकारलाई सीमाना तोकिदिन आग्रह गरेको छ ।