अब नेपाली युवाले विदेश जान नपर्नेः मन्त्री विष्ट

७ भाद्र २०७५, बिहीबार १८:००

नेपाली युवालाई विदेश जानुपर्ने बाध्यता नेपाल सरकारले हटाउने भएको भएको छ । नेपालमै युवाहरुलाई रोजगारी वातावरण सिर्जना गर्ने उद्देश्यका साथ नयाँ रणनितीक योजना सरकारले अघि सार्ने भएको हो ।
विहिबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यस्तो जानकारी दिएका हुन ।

मन्त्री विष्टले श्रमको सम्मान गर्ने अभियानलाई देशभरी नै चलाउने र ‘श्रमको सम्मान, देशको अभियान’ भन्ने नारा पनि तयार गरिएको जानकारी दिए।

विदेशमा जस्तो पनि काम गर्ने र नेपालमा त्यही काम गर्न अप्ठ्यारो मान्ने अवस्था रहेको भन्दै मन्त्री विष्टले अब कामको सम्मान गर्ने वातावरण सरकारले नै बनाउने दावी गरे ।

‘काम नगरी रातारात धनी बन्न खोज्नेहरु छन्, त्यस्ता व्यक्तिलाई समाजले बहिष्कार गर्ने र श्रम गरेर समाजमा सम्मानपूर्व बाच्ने बतावरण सरकारले बनाउँछ,,’ मन्त्री विष्टले भने ।
मन्त्री विष्टले सरकारको प्राथमिकता देशमै रोजगारीका अवसर सृजना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यत्मक अवस्थालाई अनत्य गर्ने भएकाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम वैदेशिक रोजगार बोर्ड मात्र राखिने पनि बताए ।

‘सरकारले वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्दैन, अब जानु पर्ने अवस्था रहुन्जेलसम्म व्यवस्थित गर्छ, हाम्रो योजना भनेको वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने र देशमै रोजगारी सृजना गर्ने हो’ मन्त्री विष्टले भने ।

बोर्डको काम र भूमिकालाई थप प्रभावकारी रुपमा अघि बढाउन मन्त्रालयले तयारी थालेको पनि उनले जानकारी दिए ।

सरकारले सीप नसिकी विदेश जाने प्रवृतिको पनि अन्त्य गर्ने भएको छ । मन्त्री विष्टले सरकारले सीप प्रदान गर्ने संरचना निर्माणको कार्ययोजना अघि बढाइसकेकोे जानकारी दिए।

सीप नसिकी विदेश जाँदा भनेको काम र तलव नपाउने साथै समस्यामा पर्ने भएकाले अनिवार्य रुपमा सीप सिकेर मात्रै जानु पर्ने र त्यो वतावरण सरकारले नै बनाउने मन्त्री विष्टको भनाई छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार १ दशमलव ८ प्रतिशत मात्रै दक्ष कामदार रोजगारीका लागि विभिन्न देश गएका छन् । २४ प्रतिशत अर्धदक्ष र ७४ दशमलव ५ प्रतिशत अदक्ष कामदार रोजगारीका लागि विदेश गएका छन् ।