बिमस्टेक सम्मेलन नसकिँदै शेख हसिना बंगलादेश फर्कने

१४ भाद्र २०७५, बिहीबार १५:४२

नेपालमा पहिलो पटक आयाना गरिएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कर्दै छिन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनको मध्यान्ह १ः४५ मा समापन हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता विषयका कारण उनको भ्रमण छोट्टिएको द डेलीस्टार डटनेटले उल्लेख गरेको छ ।

हसिनाले घरेलु राजनीतिका कारण बिमस्टेक बैठकमा आउन नसक्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएकी थिइन् । प्रधानमन्त्री ओलीले फोन गरेर उनलाई ‘अघिल्लो दिन आएर भोलिपल्ट चाडै जानुहोला’ भनेपछि उनी वचन हार्न नसकेर काठमाडौं आएकी हुन् ।

प्रधानमन्त्री हसिना स्वदेश फर्किनुअघि शुक्रबार बिहानको ‘रिट्रिट’ मा सहभागी हुनेछिन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार आयोजना गर्ने रात्रिभोजमा पनि उनी सहभागी हुनेछिन् ।

 

हसिना मोदि भेटवार्ता

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विहिकार भेटवार्ता गर्ने भएका छन् । उनहिरुले सम्मेलनको पहिलो दिनको कार्यक्रम सकिएपछि गर्ने भएका हुन् । आज साँझ ६ः ४५ बजेका लागि तय भएको भेटमा आगामी डिसेम्बरमा हुने भनिएको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

हसिनाले आफ्ना नेपाली समकक्षी ओलीसँग भेटवार्ता गरिसकेकी छन् । ५७ सदस्यीय जम्बो भ्रमण टोलीको नेतृत्व गरेर बिहीबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।