वानेश्वर र कोटेश्वरमा बन्ने भो कलंकीको जस्तै अण्डरपास वे, ५ स्थानमा ओभरहेड ब्रिज

७ भाद्र २०७५, बिहीबार १३:५०

भदौ ७, २०७५ काठमाडौं ।

चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै अण्डरपास वे वानेश्वर र कोटेश्वरमा बनाउने प्रकृया अघि बढेको बताइएको छ ।

विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको बताएको छ । डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भैरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार छनौंट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्ने बताएका छन् ।

त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ । निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ । एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको बताइएको छ । त्यसै गरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैले अण्डरपास बनाउने बताइएको छ ।

पाँच स्थानमा ओभरहेड ब्रिज
सडक विभागले उपत्यकाका विभिन्न स्थानमा ओभरहेड ब्रिज बनाउने भएको बताइएको छ ।

उपत्यकाको बानेश्वर,थापाथली,कालिमाटी,जावलाखेल,कोटेश्वर लगायतका स्थानमा
ओभरहेड ब्रिज बनाउन लागिएको विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोटेश्वर र बानेश्वरमा बन्ने व्रिजको डिजाइनको काम भइरहेको बताएका छन् । दुबै स्थानमा चालु आर्थिक वर्षभित्रबाटै ब्रिज बन्ने उनले बताए ।

विभागका अनुसार उपत्यकाका करिव ४० स्थानमा ओभरहेड ब्रिज बनाउनका लागि विभागमा निवेदन परेको थियो । ती निवेदन परेका मध्येबाट अत्यन्त धेरै पैदल यात्रुको चाप भएका र अत्यावश्यक ठाउँहरुमा ओभरहेड ब्रिज बनाउन लागिएको विभागले जनाएको छ । डिजाइन तयार भएपछि मात्रै लागत थाहा हुने विभागले जनाएको छ ।