आजदेखि मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद मनाउँदै, देशभरका मस्जिदमा भीड

६ भाद्र २०७५, बुधबार ११:००

भदौ ६, काठमाडौं ।

मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् ।

मुश्लिम धर्मावल्बीले ३ दिनसम्म मनाउने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

यस चाडको अवसरमा आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ ।

यसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आइरहेको भए पनि यस वर्षबाट कटौती भएको छ । यद्यपि, प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर आज सार्वजनिक विदा दिएको छ ।