नेपाली यद्योगीको अपहरणमा संलग्न ग्याङ्गस्टर सिंह पक्राउ

१३ भाद्र २०७५, बुधबार १६:१०

नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न ग्याङ्गस्टर विकास सिंह शनिबार पक्राउ परेका छन् । उनले नेपाली व्यावपारी केडियालाई अपहरण गरेर १६ करोड बराबरको सुन पिरौती लिएका थिए ।
सिंह भारतबाट पक्राउ परेका हुन । उनलाई दिल्ली प्रहरीको क्राइम ब्राञ्चले पक्राउ गरेको हो ।

उनले केडियालाई २०७३ साल जेठ १२ गते अपहरण गरेका थिए । उनलाई करिब ४ दिन पछि १६ गते भारतको विहार स्थीत मोतिहारीबाट विहार प्रहरीले अपहरण मुक्त गराएको थियो ।

भारतीय प्रहरीका अनुसार केडियाले फिरौती स्वरुप सिंहका सहयोगीलाई नयाँ दिल्लीको चाँदनी चोकमा १० करोड भारु बराबरको सुन बुझाएका थिए ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा भनिएको छ, ‘फेरि निशानामा पर्ने डरले छुटेको तीन दिनपछि उनले कथितरुपमा फिरौती बापत सुन बुझाएका थिए ।’

केडियाको अपहरणमा संलग्नताबाहेक सिंहले फिरौती रकमको बाँडफाँडको विवादमा अपहरणको मास्टरमाइन्ड भनिएका बब्लु दुवेको पनि ‘सफाया’ गरेका थिए । त्यतिबेला बुक्सार जेलमा रहेका दुवेलाई पटनाबाट १८२ किमी टाढा रहेको बेतियास्थित अदालत परिसरमा गोली प्रहार गरिएको थियो ।

सिंह केही महिनादेखि आशु पहलवानसँग दिल्लीमा लुकेर बसिरहेको र एउटा टुर र ट्राभल कम्पनी चलाइरहेको विशेष सूचना प्रहरीले पाएको थियो ।

क्राइम ब्राञ्चका डेप्युटी कमिश्नर राम गोपाल नायकले भने, ‘नेपाली उद्योगीको अपहरण तथा बब्लु दुवेको हत्याका आरोपी बिहारका वान्टेड ग्याङ्गस्टर सिंह दिल्लीमा लुकेर बसेको सूचनाको आधारमा कारवाहीपछि शनिबार पक्राउ गरिएको हो ।’

सिंह दक्षिण दिल्लीस्थित संगम सिनेमा हल अगाडि राती १० बजे कसैलाई भेट्न आउने सूचना थियो । उनी त्यहाँ आइपुग्ने बित्तिकै पक्राउ परे ।

सोधपुछका क्रममा सिंहले केडियाबाट प्राप्त फिरौती रकमको विवादमा दुवेको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
‘बिहारका ग्याङ्गस्टर कुनाल सिंह र राहुल सिंह पनि केडिया अपहरण र दुवेको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरीले बताएको छ ।