टर्कीको अंकारास्थित अमेरिकी राजदुतावासमा गोली प्रहार

५ भाद्र २०७५, मंगलवार १२:३१

भदौ ५, काठमाडौं ।

सोमबार टर्कीको अंकारास्थित अमेरिकी राजदुतावासमा गोली प्रहार भएको छ । घटनामा कुनै हताहती भने भएको छैन ।

जम्मा ६ गोली प्रहार भएकोमा ३ गोली दुतावासको बाहिरी सुरक्षा ढोका तथा एउटा गोली झ्यालमा लागेको अंकाराको गभर्नर कार्यालयले जनाएको छ ।

उक्त गोलीहरू सेतो गाडीमा आएका आक्रमणकारीले गुडरहेको अवस्थामा हानेको टर्किस अधिकारीले जनाएका छन् । इद अल अदा पर्वका कारण दुतावास यो साता बन्द थियो । यसका कारण पनि मानविय क्षति हुन नपाएको बताइएको छ ।

घटनामा संलग्न भएको भन्दै टर्किस प्रहरीले दुई संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार ३० वर्ष उमेर आशपासका ती दुई व्यक्तिको साथबाट कार र पेस्तोल बरामद गरिएको छ ।

अंकाराको गभर्नर कार्यलयले दुबै व्यक्ति आपराधिक पृष्ठभूमिका भएको जनाएको छ । यस्तै पक्राउ परेका दुबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको पनि कार्यालयको भनाइ छ ।

अमेरिकी दुतावासले घटनाप्रति तीव्र प्रतिक्रिया जनाएकोमा टर्किस प्रहरी तथा सरकारलाई ट्विटरबाट धन्यवाद दिएको छ ।