मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन

३० श्रावण २०७५, बुधबार १२:३२

साउन ३०, काठमाडौं ।

मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए।

उनी मधुमेह र रक्तचापको रोगी थिए । पछिल्लो समय उनी ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त थिए।

यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आएका थिए । उनले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका छन् ।

उनले राधासँग मोहन, जानसन, हिरो तोहर दिवाना, प्रेम रोगलगायत चलचित्र निर्माण गरेका छन् । उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गरेका छन् ।

‘यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो,’ मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भने ।