मेडिकल स्कूलको प्रवेश परीक्षामा छात्राहरूलाई कम नम्बर, किन ?

२० श्रावण २०७५, आईतवार १६:३१

साउन २०, काठमाडौं । एजेन्सी

जापानको एक मेडिकल स्कूलको प्रवेश परीक्षामा छात्राहरूलाई कम नम्बर दिइएको छ । कलेज अधिकारीहरूका अनुसार, धेरै महिला डाक्टर बने भने जापानका अस्पतालमा नर्सिङ स्टाफ कम हुनेछन् ।

जापान टाइम्सका अनुसार, टोक्यो मेडिकल विश्वविद्यालयमा सन् २०१० पछि अहिलेसम्म ३० प्रतिशत धेरै महिलालाई भर्ना गरिएको छ ।

विश्वविद्यालयका एक अधिकारीले छात्रालाई कम नम्बर दिइनु आवश्यक कदम भएको बताएका छन् । यस वर्ष भएको प्रवेश परीक्षामा १४१ छात्रले नाम निकाल्दा जम्मा ३० छात्राको नाम निस्कियो । यसले मानिसमा आक्रोश जन्माएको छ ।

जापान ज्वाइन्ट एसोसिएसन अफ मेडिकल प्रोफेसनल वीमेनकी सदस्य क्योको तनाबे भन्छिन्, ‘जुन छात्राहरू परीक्षामा उत्तीर्ण हुने क्षमता राख्छन्, तिनलाई फेल गराउनु ठीक छैन । महिला चिकित्सकको सुधारका लागि महिलाहरू नै अघि बढ्नुपर्छ ।’

अर्की अधिकारी रुरिको सुशिमाका अनुसार, महिलामाथि यसरी भेदभाव गर्नेलाई कुनै हालतमा माफी दिन मिल्दैन । कुनै पनि लोकतान्त्रिक देशमा यसो गरिनु हुँदैन । सबैलाई समान हक छ ।

जापानका विश्वविद्यालयहरूले लामो समयदेखि जेन्डर कोटा बनाएका छन् ।

अन्य प्रसंगमा टोक्यो मेडिकल स्कूलमा एक प्रशासकको छोरोलाई भर्ना दिलाउनका लागि परीक्षामा धेर नम्बर दिइएको विषयमा पनि अनुसन्धान चलिरहेको छ ।