“बुर्का” लगाएको आरोपमा महिलालाई १६ हजार रुपैयाँको जरिवाना

२० श्रावण २०७५, आईतवार १४:२६

साउन २०, काठमाडौं । एजेन्सी

डेनमार्कमा पहिलोपटक एक महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाएको आरोपमा एक हजार क्रोनर अर्थात् लगभग १६ हजार रुपैयाँको जरिवाना लगाइएको छ ।

प्रहरीले भन्यो, ‘महिलालाई होर्शोम क्षेत्रको शपिङ सेन्टरमा बुर्का लगाइएको पाइएको थियो । उनलाई बुर्का खोलाउनका लागि हामीले खुबै प्रयास गर्नुप–यो । महिलासँग जरिवाना लिइयो र उसलाई कि त बुर्का फाल्न कि सार्वजनिक स्थानबाट जान भनियो । उसले त्यहाँबाट जानु नै ठीक हुने ठानिन् ।’

अगस्ट महिनाको १ तारिखदेखि डेनमार्कमा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । ती महिलालाई फेरि बुर्का लगाएर हिँडेको पाइएमा दश गुणा बढी जरिवाना लगाइनेछ ।

मास्क र नक्कली दाह्रीले अनुहार छोप्ने मानिसलाई पनि अब सरकारले तारो बनाउँदैछ ।

मानवअधिकार संगठनहरूले बुर्कामा प्रतिबन्ध लगाउनु महिलाको अधिकार उल्लंघन भएको बताएका छन् । नयाँ कानूनका समर्थकहरूले भने यसबाट मुसलमान आप्रवासीसँग थप राम्रो मेलजोल हुने बताएका छन् ।

यसअघि बेल्जियम, फ्रान्स, जर्मनी र अस्ट्रियामा बुर्कामा प्रतिबन्ध लगाइसकिएको छ ।