बार्सिलोनाका डिफेन्डर येरी मिना घरको न घाटको !

२० श्रावण २०७५, आईतवार १५:५८

साउन २०, काठमाडौं । गोल डट्कमबाट

म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका डिफेन्डर येरी मिनालाई किन्ने चासो देखाएकोमा अब पछि हटेको छ । कोलम्बियाली खेलाडी मिना बार्सिलोनामा निराशाजनक प्रदर्शनपछि क्लब छोड्न खोजिरहेका छन् ।

मिनाले बार्सिलोना प्रशिक्षक अर्नेस्टो भाल्भेर्देको योजनामुताबिक खेल्न सकेनन् । उनले लीगमा पाँच खेल मात्र खेले र उनलाई समर ट्रान्सफरमा अन्तै जान अनुमति दिइएको छ ।

रुस विश्वकपमा तीन गोल गरेर फर्ममा रहेको देखाएपनि उनलाई बार्सिलोनामा पहिलो रोजाइको खेलाडीको सूचीमा राखिएको छैन ।

मिनालाई एभरटनले पनि किन्ने कुरा उठेको थियो तर पछि म्याचनेस्टर युनाइटेडले उनमा चासो देखाएको थियो ।

तर अहिले युनाइटेडले उनको साटो अल्डेरवीरेल्डलाई ल्याउने कोशिश गरेको बुझिएको छ ।

अनि एभरटनले पनि यी सेन्टरब्याकलाई भित्र्याउनका लागि सम्झौता गर्न चासो नदेखाएको बताइएको छ ।

आफूहरूले कुरा गरिरहँदा म्यानचेस्टर युनाइटेडसँग मिनाले कुरा अघि बढाएको र यसले आफूहरूलाई अपमानबोध भएको भन्दै एभरटनले चासो नदेखाएको हो ।

प्रिमियर लीगका दुईवटा टोलीले मिनामा चासो नदेखाएपछि उनलाई ल्याउन खोज्ने टोली नै छैनन् ।

इंग्ल्यान्ड आउने हो भने मिनाले अब चार दिनमा कुरा मिलाइसक्नुपर्छ किनकि साउन २४ गते ट्रान्सफर विन्डो बन्द हुन्छ ।