नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने

२७ श्रावण २०७५, आईतवार १७:३८

साउन २७, काठमाडौं ।

इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ ।

विश्वभर इन्टरनेटको डोमेन नेम सिस्टम (डीएनएस) व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था ‘इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आईसीएएनएन) दक्षिण एसियामा धेरै बोलिने ९ भाषाका विभिन्न लिपीमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको छ ।

देवनागरी, बंगाली, गुजराती, गुरमुखी, कन्नडा, मलायालम, उडिया, तामिल र तेलगु गरी नौ लिपीमा डोमेन नेम उपलब्ध गराउने तयारी गरिरहेको आइसीएएनएन इन्डियाका प्रमुख समिरन गुप्ताले बताए । नौ लिपीहरु अन्तर्गत दक्षिण एसियामा बोलिने दर्जनौं भाषाहरु पर्छन् ।

नेपाली भाषा देवनागरी लिपीअन्तर्गत पर्ने भाषा हो । देवनागरी लिपीमा नेपाली, संस्कृत, हिन्दी, भोजपुरी, मैथिली, नेवारी, मराठी, अवधी, पालीलगायतका भाषा पर्छन् ।

आईसीएएनएनले विश्वभर प्रचलित लिपीहरुमा सुरक्षित र स्थिर रुपले उच्चस्तरीय डोमेन नेम उपलब्ध गराउनको लागि नियमहरु बनाउने काम गरिरहेको छ ।

यसपछि अंग्रेजी भाषाको ज्ञान नभएका मानिसहरुले पनि अनलाइनमा आफ्नो भाषाको डोमेन नेमबाट इन्टनेटको प्रयोग गर्न सक्नेछन् ।