देशभर वृद्धि भइरहेको करको विषयमा छलफलको लागि बोलायो कांग्रेसले मेयर उपमेयर भेला

४ भाद्र २०७५, सोमबार १६:१०

भदौ ४, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका महानगर /उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको भेला बोलाएको छ ।

भदौ ११ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजे भेला बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

भेलाको मुख्य एजेण्डा देशभर वृद्धि भइरहेको करको विषय हो ।

स्थानीय तहमा अस्वभाविक कर वृद्धि गरिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, जिम्मेवार नागरिकले कर तिर्नुपर्छ । तर न्यायोचित र व्यवहारिक कर हुनुपर्‍र्यो ।

स्थानीय तहहरूले मनलाग्दो तवरले कर वृद्धि गरे पनि केन्द्र सरकार उदासिन भएको आरोप कांग्रेसले लगाएको छ । वृद्धि गरिएका करबारे समाधान निकाल्न कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको हो ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखलाई प्रशिक्षात्मक अन्तरक्रियामा बोलाएको हो ।

शर्माले भेलामा करको विषयका अतिरिक्त स्थानीय नेतृत्व र पार्टीबीचको समन्वयलगायतका विषयमा पनि छलफल गर्ने बताए ।

उनले सरकारले जथाभावी कर वृद्धि गरेर यो सरकार संघीयता असफल बनाउन लागेजस्तो देखिएको बताए ।