त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द, विमान आकाशमै होल्ड

१८ श्रावण २०७५, शुक्रबार ११:५९

साउन १८, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि बिहान ११.१० बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो ।

धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि विमानस्थल बन्द भएका हो । यसका कारण आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरु उड्न पाएका छैननन् ।

आधा घण्टादेखि बन्द विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल स्रोतले जानकारी दियो । वर्षायाममा विमानस्थलको धावनमार्गमा पटक-पटक पिच उप्किने समस्या देखिने गरेको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले भने २० मिनेट अवरुद्ध भएको उडान अवतरण सुचारु भइसकेको दावी गरे ।

तर, मर्मतमा केही प्राविधिक काम बाँकी रहेकाले केही समय अझै लाग्ने विमानस्थलका एक प्राविधिकले बताए ।

पिच उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।