जित्यो यूईएफए सुपर कप रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले

३१ श्रावण २०७५, बिहीबार १२:१६

साउन ३१, काठमाडौं ।

रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को हार व्यहारेको हो ।

ए ले केक एरिनामा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिएको थियो । तर, २७ औं मिनेटमा करिम बेञ्जिममा रियल मड्रिडका लागि बराबरी गोल गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ रामोसले पेनाल्टी गोलमार्फत रियललाई अग्रता दिलाए । तर, ७९ औं मिनेटमा कोष्टाले नै बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकियो । अतिरिक्त समयको खेलमा सउल र कोकेले गोल गरे । ९८ औं मिनेटमा सउल र १०४ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिको मड्रिडले ४–२ गोल अन्तरको जित निकालेको छ ।