चलचित्र ‘दाल भात तरकारी’मा प्रियंकाको आइटम नृत्य मात्र

३ भाद्र २०७५, आईतवार १५:४२

भदौ ३, काठमाडौं ।

नायिका प्रियंका कार्की ठूला ब्यानरका चलचित्रमा सानो भूमिका गर्न पनि पछि पर्दिनन् । प्रियंकाले चलचित्रमा आइटम गीत मात्र गरेका उदाहरण पनि धेरै छन् । उनै नायिका प्रियंका कार्कीले बर्षमा रिलिज हुने ठूला ब्यानरका अधिकांश चलचित्रमा कुनै न कुनै रुपमा कब्जा जमाएकी छिन् ।

प्रियंकाले चलचित्रमा ५ मिनेट मात्र भूमिका भएपनि दर्शकलाई प्रभाव पार्न सकेको खण्डमा केही फरक नपर्ने बताउँदै पनि आएकी छिन् । केही दिन अगाडि चलचित्र ‘दाल भात तरकारी’को घोषणा कार्यक्रममा नायिका कार्र्की कुर्ता सुरुवाल लगाएर उपस्थित भएकी थिइन् । सो दिनमात्र पत्रकारले चलचित्रमा नायिका कार्की पनि अनुवन्धित भएको थाहा पाए ।

चलचित्रमा यस अगाडि नै नायिका निरुता सिंह, स्वस्तिमा खड्का, बर्षा राउत फाइनल भैसकेका थिए । प्रियंकाको भूमिका के होला भन्ने कौतुहलता सबैमा हुने नै भयो । निर्माणपक्षले तयार पारेको प्रेस विज्ञप्तीमा नायिका कार्र्कीको नाम उल्लेख थिएन । नायिका कार्कीले आफू व्यक्तिगत जीवनमा व्यस्त भएकाले चलचित्रको बारेमा फाइनल कुरा ढिलो भएकाले नाम उल्लेख नभएको बताएकी थिइन् ।

यो चलचित्रमा नायिका प्रियंका कार्कीको आइटम नृत्य मात्र रहनेछ । आइटम नृत्यका लागि प्रियंकालाई चलचित्र घोषणाको अन्तिम समयमा फाइनल गरिएको थियो । नायिका कार्कीले केही ब्यानरका चलचित्रमा आइटम नृत्य मात्र गरेकी छिन् ।