काठमाडौंबाट बालक अपहरण; ८० भन्दा धेरै प्रहरी परिचालन

२८ श्रावण २०७५, सोमबार १६:५३

साउन २८, काठमाडौं ।

काठमाडौंको गोंगबुबाट बेपत्ता भएका बालक सिजान्त महतको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अपराध महाशाखा र काठमाडौं परिसरले संयुक्त रूपमा बालकको खोजी गरिरहेको हो । महतको खोजीका लागि ८० भन्दा धेरै प्रहरी परिचालन भएको प्रहरी स्रोतले जानकारी दियो ।

सिजान्तलाई ‘अपहरण’ गरेका भनिएका दिलबहादुर कार्कीको मोबाइल स्विच अफ छ ।

यसरी बेपत्ता भएका थिए सिजान्त

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आएकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत बेपत्ता भएका हुन् ।

सोमवार बिहान काठमाडौं आइपुगेका बालककी आमाले प्रहरीमा दिएको उजुरीअनुसार तनहुबाट काठमाडौं आइपुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् ।

तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी दिएकी छन् ।

मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग बाटोमै चिनजान भएको उनको भनाइ छ ।

काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् ।

छोरा सिजान्त, झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिँडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।