इजिप्टमा २ हजार वर्ष पुरानो रहस्यमय चिहान फेला

१८ श्रावण २०७५, शुक्रबार १७:११

साउन १८, काठमाडौं । एजेन्सी

इजिप्टको अलेक्जेन्ड्रियामा तीन हप्ताअघि पुरातत्व विभागले उत्खननको काम सुरु गरेको थियो । करीब १६ फिटको उत्खनन पश्चात त्यहाँ २ हजार वर्ष पुरानो चिहान फेला पर्यो ।

२७ हजार किलो तौलको ढुंगाबाट बनाइएको चिहानका विषयमा स्थानीय मानिसहरुबीचमा अनेक खालका बहसहरु भइरहेका थिए । मानिसहरु त्यसलाई एक यस्तो रहस्यमय चिहान भन्थे जसलाई उत्खनन गरिएमा प्रलय हुन्छ भन्ने आम धारणा थियो । तर स्थानीय बासिन्दाकाे चेतावनीका बाबजुद अधिकारीहरुले उक्त चिहानको उत्खनन गरेरैै छाडे । त्यसक्रममा स्थानीय सयौँ मानिसहरु नजिकै जम्मा भएर उत्खननको काम हेरिरहे ।

तर जब अधिकारीहरुले उत्खनन गरी चिहानको पटाक्षेप गरे, तब त्यहाँ रहेका सयौँ मानिसहरु अचम्ममा परे । दुईहजार वर्ष पुरानो उक्त चिहानमा तीन मानिसको कंकाल थियो । अर्को रोचक कुरा त के भने चिहानभित्र कंकालसँगै हजारौँ वर्ष पुरानो कुहिएकाे रगत मिश्रित पानी पनि थियो । त्यसबाट निकै दुर्गन्ध आइरहेको थियो ।

अधिकारीहरुका अनुसार ती कंकाल सेनाका जवानको शव हुनसक्छन् । त्यहाँबाट निकालेर ती कंकाल नेशनल म्युजियमलार्य हस्तान्तरण गरियो भने उक्त चिहानको सुरक्षाको जिम्मा सेनालाई दिइयो ।

यो सबै प्रक्रिया पूरा भएको भए पनि घटनाले नयाँ मोड लिएको छ । एकजना मानिसले अनलाइनमार्फत अपिल सार्वजनिक गर्दै चिहानमा भेटिएको उक्त रगत मिसिएको गन्हाउने पानी पिउन चाहेको बताए ।

ती व्यक्तिले त्यस्तो इच्छा व्यक्त गरेसँगै अनलाइन गर्मायो । ३१ हजारभन्दा धेरै मानिसले अनलाइनमा उनलाई समर्थन गरेका छन् र आफूले पनि उक्त पानी पिएर प्राचीन इजिप्टबासी जस्तै शक्तिशाली बन्न चाहेको बताएका छन् ।

मानिसहरुको दाबी छ कि चिहानको त्यो गन्हाउने पानी एक शक्तिशाली इनर्जी ड्रिंक्स जस्तै हो । यद्यपि, अधिकारीहरुले भने त्यो पानी फोहोर भएको भन्दै पिउन लायक नभएको बताइसकेका छन् ।