अस्पतालमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ्ः चिकित्सक संघ

१५ भाद्र २०७५, शुक्रबार ०८:३६

काठमाडौं । नेपाल चिकित्सक संघले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था अन्त्य गर्न सरकार संग जोडदार माग गरेको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा बोल्दै संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न कानूनी व्यवस्था गर्नुपर्ने धारणा राखे ।

उनले सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन ल्याएकोमा स्वागत गर्दै ऐनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन सांसदहरुलाई आग्रह गरे । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी छ ।

बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक गतिबिधिमा नलाग्न सचेत गराएका थिए । सोही कार्यक्रममा बोल्दै समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न आग्रह गरेका हुन् ।

समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरे । संवैधानिक व्यवस्था अनुसार जनताले चाहेको ठाउँमा अस्पताल खोल्न पाउने अधिकारलाई चिकित्सकहरुले अवरोध गर्न नहुने उनले तर्क गरे ।