अस्ट्रेलियामा “मुस्लिम” तथा अंग्रेजी नबोल्ने तेस्रो विश्वका मानिसको आप्रवास रोक्न माग

३० श्रावण २०७५, बुधबार १५:२०

साउन ३०, काठमाडौं । एजेन्सी

अस्ट्रेलियाका एक सिनेटरले मुस्लिम तथा अंग्रेजी नबोल्ने तेस्रो विश्वका मानिसको आप्रवास रोक्नका लागि जनमतसंग्रहको माग राखेका छन् ।

काट्टेर्स अस्ट्रेलिया पार्टीका सदस्य उग्रदक्षिणपन्थी फ्रेजर यानिङले सिनेटमा पहिलोपटक बोल्दै ‘एक जनमतसंग्रह गरेर अस्ट्रेलियाका जनतालाई तेस्रो विश्वबाट आउने अंग्रेजी नबोल्ने विशेषगरी मुसलमानहरूको आप्रवास पूरै रोक्नका लागि मत दिने अवसर दिनुपर्ने’ बताएका हुन् ।

उनले आप्रवासी समस्यामा जनमतसंग्रह गर्नु अन्तिम समाधान हो भनेका छन् । अन्तिम समाधान वा अंग्रेजीमा फाइनल सोलुसन दोस्रो विश्वयुद्धमा हिटलर तथा नाजीहरूले प्रयोग गर्ने शब्दावली हो जसको अर्थ हुन्थ्यो यहुदीहरूलाई मारिदिने ।

यानिङले अस्ट्रेलिया गोराहरूका लागि हो भन्ने नीतिको सन्दर्भ दिए । अस्ट्रेलियालीहरू सन् १९०१ देखि १९६० सम्म गैरयुरोपेलीहरूलाई रोक्ने पुरानो नीतिमा फर्किन चाहने उनले सुझाव दिए ।

यानिङले मंगलवार थप मुसलमानलाई अस्ट्रेलिया भित्र्याउनबाट रोक्नुमा प्रशस्त कारणहरू रहेको तर्क गरे ।

‘यहाँ आइसकेका मुसलमानहरू अपराध, सरकारी सुविधाको दुरुपयोग र आतंकवादमा अन्य आप्रवासी समूहभन्दा बढी संलग्न रहेको पाइएको छ,’ उनले भने ।

अस्ट्रेलियाका नेताहरूले यानिङको यो भनाइको निन्दा गरेका छन् ।