११३ वर्षअघि डुबेको जहाज फेला, हुनसक्छ २०० टन सुन बोकेको जहाज

४ श्रावण २०७५, शुक्रबार १६:२२

साउन ४, काठमाडौं । एजेन्सी

दक्षिण कोरियाको एक टोलीले रुसी जहाजको भग्नावशेष फेला पारेको दाबी गरेको छ । त्यसमा २०० टन सुन भएको दाबी गरिएको छ ।

ती सबैको मूल्य लगभग १३ लाख करोड रुपैयाँ भएको बताइएको छ ।

बेलायती पत्रिका डेली टेलिग्राफका अनुसार, जहाजको भग्नावशेष दक्षिण कोरियाली टापु उलुंगडोनजिक १४ सय फीटको गहिराइमा भेटियो ।

रुसी जलसेनाको दिमित्री दोन्सकोई नामक जहाज सुनसहित सन् १९०५ मा डुबेको थियो ।

समाचारअनुसार, जहाज खोज्न दक्षिण कोरिया, बेलायत र क्यानडाका टोलीहरू मिलेर काम गरिरहेका थिए । यी टोलीहरूले भग्नावशेषको तस्वीर खिच्नका लागि दुईवटा पनडुब्बीको उपयोग गरे ।

जहाजमा सुनको बिस्किट र सिक्काहरू भरिएका ५५ सय बाकस थिए । जापान यसमा कब्जा गर्न चाहन्थ्यो तर त्यसअघि नै जहाज डुब्यो ।

जहाज खोज्ने सउलको शिनिल समूहले नोभेम्बरसम्ममा जहाजलाई बाहिर निकालिने आशा गरेको छ ।

कम्पनीका अनुसार, भेटिएको सुनमध्ये आधा रुसलाई दिइनेछ । सुनबाट पाइने १० प्रतिशत रकम उलुंगडो टापुमा संग्रहालय बनाउन खर्च गरिनेछ ।