सुरुवाती चरणमै जनप्रतिनिधिमा तलवभत्ता र सुविधाको मोह

२८ असार २०७५, बिहीबार ०६:५२

असार २८, काठमाडौं ।

काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाएको छ । महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको हो ।

तलव नबढाएसम्म प्रदेश सरकारले तोकेको सेवा सुविधा नै नबुझ्ने एक वडाध्यक्षले जानकारी दिए ।

प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार महानगरका मेयरले मासिक तलव ४६ हजार रुपैयाँ पाउँछन् । महानगरले भने ५५ हजार पुर्‍याउन माग गरेको छ ।

उपमेयरको तलव ४८ हजार बनाउन प्रस्ताव गरिएको छ । अहिले ४० हजार २ सय रुपैयाँ तोकिएको छ ।

महानगरले वडाध्यक्षको तलव ४० हजार पर्‍याउन प्रस्ताव गरेको छ । अहिले २८ हजार मात्रै छ ।

काठमाडौं महानगरपालिकाकाले वडा सदस्यको तलव पनि बढाउन प्रस्ताव गरेको छ । हाल ७ हजार तलव बुझ्दै आएका वडा सदस्यलाई मासिक २० हजार तलव दिन प्रदेश सरकारसँग माग गरिएको एक वडाध्यक्षले जानकारी दिए ।

अहिले सबै प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब लगभग समान तोकिएको छ । केन्द्र सरकारले दिएको खाका अनुसार नै प्रदेश सरकारहरुले स्थानीय जनप्रतिनिधिहरुको सेवासुविधासम्वन्धी विधेयक प्रदेशसभाबाट पास गराएका हुन् ।

सुरुवाती चरणमै जनप्रतिनिधिमा तलवभत्ता र सुविधाको मोह देखिनु सुखद नभएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।