श्रीमतीलाई ‘तर्साउन’ अपहरणको नाटक, श्रीमान प्रहरी फन्दामा परेपछि बाहिरीयो रहस्य

११ श्रावण २०७५, शुक्रबार १७:००

साउन ११, काठमाडौं ।

बिहीबार विहानै प्रहरी कन्ट्रोल १०० मा खबर आयो, ‘टोखा–९, गोंगबूका शिवराज घिमिरे अपहरणमा परे ।’ गोंगबूमा इलेक्ट्रिक पसल छ, घिमिरेको । उनी सवारीसाधनमा टीभी/क्यासेट पनि जडान गर्छन् ।

घरबाट हिँड्ने बेलामा श्रीमतीसँग विवाद भएको थियो, उनको । केहीबेरमा उनकी श्रीमती १७ वर्षीया अप्सरा पौडेल (घिमिरे) लाई ९८२३०७७०४७ नम्बरबाट फोन आयो ।

‘भाउजु दाईको नम्बर दिनुस् न !’ उताबाट कसैले भन्यो । अप्सराले ‘हेर्छु है त म… को बोल्नु भयो होला ?’ भनिन् । ‘गाडीमा क्यासेट हाल्नु पर्ने थियो त्यही भएर’, उताबाट जवाफ आउँछ । करिब साढे ८ बजेतिर घिमिरे घरबाट निस्किन्छन् ।

तर, त्यसपछि उनी सम्पर्कबिहीन हुन्छन् । श्रीमान् खाना खान पनि नआएपछि अप्सरा आत्तिन्छिन् ।

खोज गर्दा एक स्थानीयले शिवराजलाई २/४ जनाले गाडीमा हालेर लगेको बताउँछन् । लगत्तै, १०० मा फोन गरेर अपहरणमा परेको खबर दिन्छन् ।

लोकेशन: काँडाघारी, पनौती

राजधानीको व्यस्त ठाउँमा एकाबिहानै युवक अपहरणमा परेको खबर पाएपछि काठमाडौं प्रहरी परिसरको एक टोली घटनास्थलतर्फ ‘मुभ’ हुन्छ ।

‘टोली पुग्ने वित्तिकै श्रीमान् र श्रीमतिबीच बिहान भएको झगडाको विषयमा सूचना पायौं । त्यतिवेलाको वस्तुस्थिति बुझेपछि उनी अपहरणमा परेको हामीलाई विश्वासै भएन’, परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘तर, पनि सूचना आएपछि खोजी गर्नैपर्छ भनेर टोली परिचालन भएको थियो ।’

प्रहरीले प्रारम्भमा बसपार्कको आकाशे पुल दाहिनेतर्फ म्हैपीको ओरालोबाट युवक अपहरित भएको सूचना पाएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले शिवराजको मोबाइल ट्रेस गर्छ । ‘ट्रेस गर्दा पहिले काँडाघारीमा लोकेशन देखिएको थियो’, अनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकले भने, ‘त्यसपछि पनौतीमा लोकेसन देखिएको थियो ।’

पनौतीमा उनको लोकेशन देखिएपछि परिसरका प्रमुख पोखरेलले काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्कालाई समेत फोन गरेर सहयोग मागेका थिए ।

‘काठमाडौंबाट अपहरणमा परेको भनेर सूचना आएको एक व्यक्तिको लोकेशन तपाईंको क्षेत्रमा देखिएको छ । खोजी गर्नु पर्‍यो’, उनले भनेका थिए ।

प्रहरीले काभ्रेमा पनि खोजी बढायो । यद्यपि, अझै उनी फेला परेनन् ।

जब स्वयम्भूमा शिवराज सकुशल भेटिए

अपरान्हसम्म अत्तोपत्तो नलागेपछि परिसरमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी भेषराज रिजाल र प्रहरी प्रभाग, बसपार्कका प्रहरी निरीक्षक मोहन विक्रम केसीलाई बोलाइयो । र, सूचनालाई सूक्ष्म रुपमा केलाएर थप प्रहरी परिचालन भयो ।

‘उनको खोजी गर्ने क्रममा स्वयम्भूमा लोकेशन देखिएपछि टोली त्यसतर्फ मूभ भयो’, परिसरका एक कनिष्ठ अधिकारीले भने, ‘त्यसक्रममा स्वयम्भूको शिवालय क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो ।’

प्रहरीको फन्दामा परेपछि शिवराजले प्रारम्भमा बसपार्कबाट आफूलाई गाडीमा हालेर मुखमा पट्टी बाँधेर ‘थाहा नभएको’ ठाउँतिर लगेको दाबी गरेका थिए । ‘मलाई जुन गाडीमा लगियो, त्यही गाडीमा फर्काएको हो’, उनले भनेका थिए ।

यद्यपि, प्रहरीले उनको बयानलाई विश्वास गरिरहेको थिएन ।

‘उनको श्रीमतिसँग पटकपटक झगडा भइरहेको कारण र उनकै श्रीमतिसँग शिवराजको नम्बर मागिएको कारण पनि अपहरण होइन भन्ने आशंका थियो’, परिसरका प्रमुख पोखरेल भन्छन्, ‘त्यसपछि महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान थालेका थियौं ।’

त्यसक्रममा प्रहरीले शिवराजकी श्रीमतिसँग पनि सोधपुछ गर्‍यो । अन्तत: शिवराजले आफूले अपहरणमा परेको नाटक मात्रै गरेको स्वीकारे ।

शिवराज भन्छन्– श्रीमतिलाई तर्साउन नाटक रचेँ

महाराजगञ्ज वृत्तका प्रमुख रिजालले केहीवेर केरकार गर्ने वित्तिकै उनको बोली लरबराउन थाले । अन्त्यमा उनले सत्य लुकाउन सकेनन् ।

अन्तत: शिवराजले मुख खोलिदिए, ‘श्रीमतिलाई तर्साउन अपहरणको नाटक रचेको हुँ ।’

तनहुँ स्थायी घर भइ हाल गोंगबूमा भाडामा बस्दै आएका २५ वर्षीय शिवराजको भनाइ उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘मैले श्रीमतिको कारणले धेरै दु:ख पाएको छु । बिहान पनि झगडा भएको थियो । त्यसैले यो सब गर्नु पर्‍यो ।’

त्यससँगै उनले दिनभरिको कहानी पनि खोले:–

बिहान कलंकीबाट सार्वजनिक गाडी गरेर काभ्रेतिर लागेँ । बनेपा हुँदै पनौतीसम्म पुगेँ । त्यहाँ दिनभर पनौती डाँडामा लुकेर बसेँ । साँझ पर्न लागेपछि मयुर यातायात चढेर फर्किएको हुँ । राति पक्राउ परेँ ।