लुटेराहरुले गोली प्रहार गरी मोटरसाइकल लुटे

२४ असार २०७५, आईतवार ०६:१६

असार २४, काठमाडौं ।

अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेकाे छ ।

बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् ।

लुटेराकाो निशानाबाट भने उनी जाेगिएका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका उनको अहिले गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरी आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली आउदै गरेका साह मोटरसाइकल, रकम र मोबाइलसहित गए राति ८ः३० बजे बकैयाको बाँधमा लुटिएको जानकारी दिए ।

प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही-८ को एक पोखरीनजिक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।