राखे गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

४ श्रावण २०७५, शुक्रबार १४:१८

साउन ४, काठमाडौं ।

झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।

मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । “बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए”, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भने, “कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।”