म अन्य खेलाडीलाई प्रतिस्पर्धीका रूपमा हेर्दिनँ’ : रोनाल्डो

२ श्रावण २०७५, बुधबार ०९:०६

साउन २, काठमाडौं । एजेन्सी

क्रिस्टियानो रोनाल्डोले युभेन्टस क्लब पुगेपछि लियोनेल मेस्सीलाई आफ्नो प्रतिस्पर्धीका रूपमा नहेरेको बताएका छन् ।

यी दुई खेलाडीलाई विगत एक दशकयता संसारकै सबभन्दा राम्रा फूटबलर भनिने गरिएको छ । रोनाल्डो सन् २००९ मा रियल मड्रिड गएपछि बार्सिलोनामा रहेका मेस्सीसँग उनको प्रतिस्पर्धाको चर्चा चल्न थालेको हो ।तर रोनाल्डो स्पेनको रियल मड्रिड छोडेर इटालीको युभेन्टस गएपछि मेस्सीसँगको प्रतिस्पर्धामा त्यही तीव्रता देख्न पाइने छैन ।

रोनाल्डोले इटालीमा पनि गोलको वर्षा गर्ने अनि आफ्नो चौथो टीमबाट पनि उपाधिहरू जित्ने अपेक्षा गरिएको छ ।मेस्सीसँगको प्रतिस्पर्धाका विषयमा सोध्दा रोनाल्डोले भने, ‘म अन्य खेलाडीलाई प्रतिस्पर्धीका रूपमा हेर्दिनँ, म त्यस्तो मानिस होइन ।’

रोनाल्डोले थपे, ‘मेस्सीले मलाई चुनौती दिएकै हुन् । तपाईंहरू सबैले यो प्रतिस्पर्धा मन पराउनुभयो र यो रमाइलो पनि थियो । तर मैले यसलाई शत्रुताका रूपमा कहिल्यै हेरिनँ । म जहिले पनि टीमका लागि उत्कृष्ट प्रदर्शन गर्ने धुनमा हुन्छु ।

मैले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड र रियल मड्रिडमा गरेकै त्यही हो । मेस्सीले बार्सिलोनाका लागि त्यही गरेका हुन् । पछि हामी दुवैले संन्यास लिने बेलामा महान् खेलाडी को हो भनी हेरौंला ।’