मेस्सी र रोनाल्डोलाई बिर्साउने विश्वकपका नयाँ स्टार एमबाप्पे

१८ असार २०७५, सोमबार ०७:०७

असार १८, काठमाडौं । एजेन्सी

रुसमा भइरहेको विश्वकपमा उपाधिको दाबेदार मानिएका दुई हेभिवेट टिम अर्जेन्टिना र फ्रान्सबीच शनिबार बेलुका भएकोको प्रिक्वार्टरफाइनल खेललाई धेरैले चासोको साथ हेरेका थिए ।

एकातिर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टिम र अर्कोतिर युवा खेलाडीहरुले भरिएको फ्रान्सबीचको खेल धेरै नै रोमाञ्चक रहृयो । गोलको वर्षा नै भएको उक्त खेलमा एक १९ वर्षका ठिटोले सनसनी मच्चाए ।

काजानमा भएको खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ४-३ को जीत हात पार्दा फ्रान्सका युवक केलियन एमबाप्पे खेलको नायक बने । जीत हात पार्ने क्रममा उनी एक्लैले २ गोल गरे भने अर्को एक गोलको लागि अवसर उपलब्ध गराइदिएर सनसनी मच्चाए ।

बलियो प्रतिस्पर्धी अर्जेन्टिनाको डिफेन्सलाई ध्वस्त बनाउँदै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्‍याएपछि सबैतिर उनको चर्चा भइरहेको छ ।

खेलमा उनको गति देख्दा लाग्थ्यो उनी चितुवा भन्दा पनि तेज गतिमा बल लिएर दौडिरहेका छन् । खेलमा बल पोजिसन अर्जेन्टिनाको धेरै भए पनि काउन्टर अट्याकमा फ्रान्स धेरै नै तेज देखिएको थियो ।

उत्कृष्ट गतिमा लोभलाग्दो क्रस गर्दै सशक्त प्रहार गर्ने फ्रान्सको खेलमा नायक बनेका एमबाप्पलेले विश्व फुटबलमा नयाँ स्टारको उदय भएको स्पष्ट संकेत दिएका छन् ।

फ्रान्सको लागि सन् २०१७ मार्चमा डेब्यु गरेका एमबाप्पेको गोल गर्ने क्षमता, तीव्र गति, दुवै खुट्टाले बल छलाउन र प्रहार गर्न सक्ने क्षमताको कारण धेरैले उनलाई भविष्यको सुपरस्टारको रुपमा चित्रित गरेका छन् ।

एमबाप्पलेको खेलकौशललाई धेरैले पेलेसँग तुलना गर्न थालेका छन् । पेलेले सन् १९५८ को विश्वकपमा १८ वर्षको उमेरमा स्वीडेनविरुद्ध एक्लैले दुई गोल गरेपछि ६० वर्षसम्म कुनै पनि टिनएज खेलाडीले विश्वकपको एकै खेलमा दुई गोल गरेका थिएनन् । उक्त कीर्तिमानलाई एमबाप्पेले ६० वर्षपछि बराबरी गरे ।

तेज दिमागका एमबाप्पेको गति साच्चै नै लोभलाग्दो छ । खेलपछि उनको बारेमा प्रतिक्रिया दिँदै फ्रान्सका मिडफिल्डर पोउल पोग्बाले एमबाप्पेसँग धेरै प्रतिभा र सम्भावना भएको बताए । उनको गति धेरै राम्रो भएको पोग्बाले प्रतिक्रिया दिए ।

यसवर्षको विश्वकपमा बाँकी खेलहरुमा ठूला स्टारहरु अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न पाइदैन । शनिबार भएको खेलमा अर्जेन्टिना फ्रान्ससँग र पोर्चुगल उरुग्वेसँग पराजित हुँदै बाहिरिसकेका छन् ।

को हुन् एमबाप्पे ?

सन् १९९८ डिसेम्बर २० मा जन्मिएका एमबाप्पेको पूरा नाम लोटिन किलियन एमबाप्पे हो । गएको सिजन मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका उनले लोभलाग्दो प्रदर्शन गरिरहेका छन् । गत सिजन चोटको कारण धेरै खेल गुमाए पनि उनले लिगमा १३ गोल गरेका थिए ।

सानै उमेरबाट फुटबल खेल्न थालेका उनी एएस बोन्डीको युथ एकेडेमीका उत्पादन हुन् । त्यसपछि आइएनएफ क्लारेफोन्टेन हुँदै मोनाको पुगेका उनी सत्र वर्षको उमेरमै मोनाकोको सिनियर टिमबाट डेब्यु गर्दै नियमित गोलकर्ता बन्न सफल भए ।

सन् २०१६-१७ को सिजन मोनाकोलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेपछि उनलाई पीएसजीले कीर्तिमानी रकम तिर्ने सम्झौता गर्दै लोनमा भित्र्याएको हो ।

यो सिजन लागेसँगै पीएसजीले उनको लागि १ सय ८० मिलियन युरो मोनाकोलाई तिर्नेछ । यो रकम पीएसजीले नै नेइमारको लागि बार्सिलोनालाई तिरेको २ सय २२ मिलियन युरो पछिको दोस्रो ठूलो ट्रान्सफर रकम हो ।

विश्वकै दोस्रो महंगो खेलाडी भए पनि उनी उदार दिलका छन् । उनलाई देश प्रतिनिधित्व गरेर खेल्दा पैसा लिन हुँदैन भन्ने महसुस हुन्छ ।
त्यसैले उनले आफूले फ्रान्सको जर्सी लगाएर खेल्दा पाउने सबै रकम अपाङ्ग बच्चाहरुको लागि दान दिने बताएका छन् ।

उनले विश्वकपमा खेलमा प्रति खेल बराबर १७ हजार पाउण्ड प्राप्त गर्छन् । त्यस्तै फ्रान्सले विश्वकप जितेमा उनले पारिश्रमिक बाहेक दुई लाख पैंसठ्ठी हजार पाउण्ड बोनसको रुपमा प्राप्त गर्नेछन् ।

उनले आफूले प्राप्त गर्ने रकम र बोनस अपाङ्ग बालबालिको क्षेत्रमा काम गर्ने च्यारिटी संस्था प्रायर्स डे कोर्डेस एसोसिएसनलाई प्रदान गर्ने घोषणा गरेको फ्रान्सेली दैनिक लि इक्विपेले जनाएको छ ।